धनगढी – रसुवाको मितेरी पुलमा कर्तव्य पालनाका क्रममा भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका सहायक हवलदार हिक्मत महराको प्रतीकात्मक अन्त्येष्टि गरिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–२ बसाड पुख्र्यौली घर भई हाल कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटमा बस्दै आएका महरा २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दु संस्कारअनुसार कुश र काँसबाट प्रतीकात्मक शव बनाएर शनिबार अन्त्येष्टि गरेको हो ।


बासकोटस्थित निवासबाट बिहान ८ बजे सुरु भएको प्रतीकात्मक शवयात्रा गोदावरी आर्यघाट पुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । अन्त्येष्टिमा आफन्त, शुभचिन्तक तथा स्थानीयको सहभागिता रहेको थियो ।
महरासहित भोटेकोशी बाढीमा सुदूरपश्चिमका चार जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीका हवलदार नरेन्द्रप्रसाद भट्ट, सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा बाढीपछि सम्पर्कविहीन भएका थिए ।
बाढीमा रसुवामा कार्यरत ठूलो संख्याका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका थिए। प्रहरीको विवरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका थिए । उनको शव फेला नपरे पनि लामो समयसम्म अवस्था अज्ञात रहेपछि परिवारले धार्मिक संस्कारअनुसार प्रतीकात्मक अन्त्येष्टि गरेको हो ।


















