खाेज्नुहाेस

गोदावरीका जनप्रतिनिधि र कर्मचारीलाई दिइयो सामाजिक जबाफदेहिता सम्बन्धी अभिमुखीकरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सामाजिक जबाफदेहिता औजार तथा अभ्यास र यसको महत्वसम्बन्धी एक दिने अभिमुखीकरण दिइएको छ । बिहीबार युरोपियन युनियन र युएन वुमेनको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानअन्तर्गत प्रो पब्लिकको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो ।

निड्स नेपाल र सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेतको सहकार्यमा आयोजित कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया वरिष्ठ शिक्षा निर्देशक हरिस पन्त लगायत जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, नागरिक बडापत्र, नागरिक प्रतिवेदन पत्र, सूचनाको हक, गुनासो व्यवस्थापन संयन्त्र, सहभागितामूलक योजना तर्जुमा तथा लैङ्गिक मैत्री बजेट निर्माणलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

attariya hospital

अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उपप्रमुख शारदा रोकायाले अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि, कर्मचारीलाई जबाफदेहि बनाउने बताइन् । उनले जनप्रतिनिधि, कर्मचारी जबाफदेही हुनुपर्ने बताउँदै जनताप्रति जबाफदेहिता नभए जनआक्रोश बढ्ने बताइन् ।

उनले हाल नगरपालिकामा सार्वजनिक लेखा परीक्षणको कार्यविधि नभएको भन्दै यसलाई तत्काल बनाउनको लागि आफूले पहल गर्ने बताइन । ‘माथिकै कार्यविधि अनुसार हामीले काम गरिरहेका छौ । अब हामीले नगरपालिकाकै कार्यविधि बनाउनु पर्छ’ उनले भने ‘कार्यविधि बनेमा आगामी ०८४ मा आउने जनप्रतिनिधिलाई पनि काम गर्न सहज हुनेछ । हामीले एक पटक राम्रो सिस्टम बसायौ भने यो नियमित रहिरहन्छ ।’ उनले अभिमुखीकरण कार्यक्रमबाट सामाजिक परीक्षण गर्नुपर्छ भन्ने कुरा जानकारी पाएको बताउँदै यसलाई व्यवहारमा उतार्ने बताइन् ।

navjiwan hospital

गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुख एवम् वरिष्ठ शिक्षा निर्देशक हरिस पन्तले सुशासनका कुरामा कार्यक्रममार्फत झकझक्याउने काम भएको बताए । उनले यस्ता छलफलले धेरै सुधार हुने बताउँदै छोटो समयमा धेरै विषयवस्तु समेटिएको बताए । सामाजिक जबाफदेहीताका टुल्सले अँध्यारो कोठामा उज्यालो पार्ने साधन जस्तै भएकाले यसको आत्मसाथ गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी कार्यपालिका सदस्य चन्द्रा भुलले कतिपय कुरा गरिरहेको भए पनि अभिमुखीकरण कार्यक्रमबाट स्पष्टता मिलेको बताइन । ‘सार्वजनिक सुनुवाइ, सामाजिक लेखा परीक्षण, सार्वजनिक परीक्षण यी तीन कुरामा म आफै कन्फ्युजन थिए’ उनले भनिन् ‘अभिमुखीकरणबाट यी कुरामा स्पष्ट हुने मौका मिल्यो ।’ उनले कुन कुन कार्यविधि बनाउन आवश्यक छ भन्ने कुराको जानकारी भएको बताउँदै बनेका कार्यविधिमा पनि के कस्ता कमजोरी छन् भन्ने कुरा प्रस्ट भएको बताइन् ।

परियोजनाका टिम लिडर पोष्ट केसीले परियोजनामार्फत जवाफदेहिता तथा पारदर्शिताको माग अभिवृद्धि गर्दै लैङ्गिक समानता, सामाजिक न्याय, महिला सशक्तीकरण र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्य लिइएको बताए ।

परियोजना संयोजक सरिता कुमारी थापाले जबाफदेहितालाई कसरी पारदर्शी सुशासन बनाउने भन्ने उद्देश्यले नै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताइन । उनले अभिमुखीकरणमा सिकेका कुरा जनप्रतिनिधि, कर्मचारीले व्यवहारमा उतार्ने अपेक्षा लिइएको बताइन् । कार्यक्रममा परियोजनाका टिम लिडर केसी र परियोजना संयोजक थापाले प्रशिक्षण दिएका थिए ।