अत्तरिया – कैलालीको चुरे गाउँपालिका घरखेडामा सामाजिक जवाफदेहिता औजार तथा अभ्यास र यसको महत्वसम्बन्धी एकदिने पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युरोपियन युनियन र यूएन वुमेनको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानअन्तर्गत प्रो पब्लिकको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो। निड्स नेपाल र सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीको लगायत जनप्रतिनिधि र कर्मचारी गरी ३२ जनाको सहभागिता थियो।

कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीलाई सामाजिक जवाफदेहिताका औजार, तिनको अभ्यास र महत्वबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको आयोजकले जनाएको छ।
अभिमुखीकरणमा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, नागरिक वडापत्र, नागरिक प्रतिवेदनपत्र, सूचनाको हक, गुनासो व्यवस्थापन संयन्त्र, सहभागितामूलक योजना तर्जुमा तथा लैङ्गिकमैत्री बजेट निर्माणलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
परियोजनाका टिम लिडर पोष्ट केसीका अनुसार परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० वटा स्थानीय तहका २० वडामा सञ्चालन भइरहेको छ। परियोजनाले विशेषगरी महिला, पछाडि पारिएका समूह, दलित, जनजाति, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्तिहरूको निर्णय प्रक्रियामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

परियोजनामार्फत जवाफदेहिता तथा पारदर्शिताको माग अभिवृद्धि गर्दै लैङ्गिक समानता, सामाजिक न्याय, महिला सशक्तीकरण र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्य लिइएको केसीले बताइन। परियोजनाका गतिविधिले स्थानीय सरकारले प्रवाह गर्ने सेवामा पारदर्शिता र जवाफदेहिता बढाउनुका साथै निर्णय तहमा महिलाको पहुँच अभिवृद्धि गर्न तथा लैङ्गिकमैत्री सार्वजनिक सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले एकदिने अभिमुखीकरणले सामाजिक जवाफदेहिताका औजार र तिनको अभ्यासबारे थप जानकारी प्राप्त भएको बताए। पालिकाले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा सामाजिक जवाफदेहिताका औजारको प्रयोग तथा अभ्यास कार्यविधिमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय सरकारले नियमित रूपमा सामाजिक जवाफदेहिताका औजार प्रयोग गर्न सके सार्वजनिक सेवाको गुणस्तर र प्रभावकारिता बढाउन, पालिकाको सार्वजनिक छविमा सुधार ल्याउन, गुनासो न्यूनीकरण गर्न तथा सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने खत्रीले बताए ।
कार्यक्रममा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज परियार र कार्यपालिका सदस्य कलावती विकले अभिमुखीकरणको प्रस्तुतीकरण तथा विषयवस्तुमाथिको छलफल जानकारीमूलक र प्रभावकारी रहेको प्रतिक्रिया बताए । सामाजिक जवाफदेहिताका औजार पालिकामा नियमित रूपमा अभ्यास गर्न सके लैङ्गिकमैत्री सार्वजनिक सेवामा सुधार आउने बताए ।
कार्यक्रमको सहजीकरण परियोजनाका टिम लिडर पोष्ट केसी र परियोजना संयोजक सरिता कुमारी थापाले गरेका थिए ।

















