खाेज्नुहाेस

सुदूरपश्चिममा भएका ठुला दुर्घटनाको कारण खोजी

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा भएका ठुला सवारी दुर्घटनाको कारण खोजी गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा भएका ठुला सवारी दुर्घटनाको कारण खोजी गरेको हो । जसका लागि कार्यालयले सो आर्थिक वर्षमा भएका १४ ठुला सवारी दुर्घटनाको अध्ययन गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले आर्थिक वर्ष २०८२/०८३ मा १४ ठुला दुर्घटनामा ३९ जनाको मृत्यु र १४१ जना घाइते भएको घटनाको अध्ययन गरिएको बताए । उनले ती दुर्घटनाको कारण पत्ता लगाएर उक्त कारणको आधारमा गर्नु पर्ने सुधार कार्यको लागि सम्बन्धित पक्षहरूलाई पत्राचार गरिएको बताए ।

उनले दुर्घटनाका कारण पत्ता लगाएर मात्रै सो क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण गर्न सकिने भएकाले प्रदेशमा भएका ठुला दुर्घटनाको अध्ययन गरिएको बताए । ‘अध्ययनका क्रममा तीव्र गति, बाटोको कारण, तीव्र गतिका कारण, नियमित सवारी परीक्षण नगराएको कारण दुर्घटना भएको देखिएको छ’ उनले भने ‘दुर्घटनाको कारण सहित सुधार गर्नुपर्ने कुरा सम्बन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको छ । धेरै दुर्घटना दोहरिएर पनि भएकाले यसका लागि सजकता अपनाउन भनिएको हो ।’

attariya hospital
navjiwan hospital

आर्थिक वर्ष २०८२/०८३ मा २ हजार ५ सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा २०५ जनाको मृत्यु भएको थियो । जसमध्ये ठुला १४ दुर्घटनाको ट्राफिक प्रहरीले अध्ययन गरेको हो । अध्ययन गरेका दुर्घटनामा १२ जना घाइते हुने गरी बैतडीको दशरथ चन्द नगरपालिका – ४ मा भएको बोलेरो दुर्घटना, १० जना घाइते हुने गरी बैतडीको सुर्नया – ७ मा भएको इभी गाडी दुर्घटना, बैतडीको पाटन नगरपालिका – ८ मा ६ जनाको मृत्यु र १२ जना घाइते हुने गरी भएको जिप दुर्घटना, बझाङ जाँदै गरेको १३ जनाको मृत्यु र ३६ जना घाइते भएको बस दुर्घटना र बैतडीको पाटनमै भएको बस दुर्घटनामा १ जनाको मृत्यु र २३ जना घाइते भएको घटना रहेका छन् ।

यस्तै बझाङको तलकोट ५ मा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको घटना, बझाङको केदारस्यु गाउँपालिका – ७ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र १२ जना घाइते भएको घटना, कैलालीको जानकीमा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु र ३ जना घाइते भएको घटना, कैलालीकै गोदावरी नगरपालिका – ३ मा अटो र ई रिक्सा दुर्घटना हुँदा ४ जनाको मृत्यु र ७ जना घाइते भएको घटनाको अध्ययन गरिएको कार्यालयले जनाएको छ ।

यस्तै कैलालीको लम्की चुहा ३ मा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु र १२ जना घाइते भएको घटना, गोदावरी ४ मा २ मोटरसाइकल ठोक्किएर ३ जनाको मृत्यु १ जना घाइते भएको घटना, भजनी ४ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटना, कञ्चनपुरको कृष्णपुरमा १ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ५ जना घाइते भएको घटना र डोटीको जोरायलमा इभी हाइस दुर्घटना हुँदा २ जनाको मृत्यु र २० जना घाइते भएको घटनाको कार्यालयले अध्ययन गरेको थियो ।