बैतडी – सडक डिभिजन कार्यालय बैतडीले निर्माण तथा मर्मतसम्भारको जिम्मा लिएर पनि सम्झौताअनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका १० वटा सडक ठेक्का सम्झौता अन्त्य गरेको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सम्झौतामा तोकिएको अवधिभित्र निर्माण तथा मर्मतसम्भारको काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका शर्तअनुसार ठेक्का सम्झौता अन्त्य गरिएको हो। सडक विभागले पनि विभिन्न सडक डिभिजन कार्यालयहरूले ठेक्का सम्झौता अन्त्यसम्बन्धी सूचना सार्वजनिक गरेकाे छ ।

सम्झौता अन्त्य गरिएका ठेक्कामध्ये अनारखोली–खोड्पे–पाटन सडकखण्डको सडक संरचना मर्मत, खोड्पे–बिथ्थड सडकखण्ड स्तरोन्नति, खोड्पे–चैनपुर राजमार्गको मर्मत तथा पुनःस्थापना, सडक सतह मर्मत तथा सडक सुरक्षा सम्बन्धी कामहरू रहेका छन्।

यसैगरी खोड्पे–चैनपुर राजमार्ग (एनएच–६४), मध्यपहाडी राजमार्ग (एनएच–०३) तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्ड (एनएच–६६) का विभिन्न मर्मत, पुनःस्थापना र सडक सुरक्षा सम्बन्धी ठेक्कासमेत अन्त्य गरिएको छ।
ठेक्का सम्झौता अन्त्य हुने निर्माण व्यवसायीमा न्यु सहारा कन्स्ट्रक्सन, जयलक्ष्मी निर्माण सेवा, प्रभास कन्स्ट्रक्सन, श्री नरेन्द्र निर्माण सेवा, कुलगडे निर्माण सेवा, बिग बी एन्ड कम्पनी प्रालि र रन्सैनी निर्माण सेवा रहेका छन्।
सडक डिभिजन कार्यालय बैतडीले सम्बन्धित निर्माण व्यवसायीलाई सार्वजनिक सूचनामार्फत ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी गराएको छ।




















