धनगढी – जिल्ला अस्पताल बझाङलाई ५० शय्यामा स्तरोन्नति गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको छ । अस्पताल व्यवस्थापन समिति र प्रशासनले अस्पतालको भौतिक पूर्वाधार विस्तारसँगै दक्ष जनशक्ति र आधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।
जिल्ला अस्पताल व्यवस्थापन समिति बझाङका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले मुख्यमन्त्री खगराज भट्ट, सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, भौतिक पूर्वाधारमन्त्री ओमविक्रम भाट ‘सरल’ र आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ललाई भेट गरी बुझाएको पत्रमा दुर्गम हिमाली जिल्लाका नागरिकलाई सर्वसुलभ, गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको स्तरोन्नति आवश्यक रहेको उल्लेख छ ।


बझाङका विभिन्न स्थानीय तहका नागरिक उपचारका लागि जिल्ला अस्पतालमै निर्भर रहनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवाको दायरा विस्तार भए पनि विशेषज्ञ सेवा, दक्ष जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक उपकरण तथा विशिष्टीकृत उपचार सेवाको थप विकास आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ ।
हाल १५ शय्यामा सञ्चालन भइरहेको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी आवश्यक दरबन्दी सिर्जना तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । त्यस्तै, भवन तथा अन्य भौतिक पूर्वाधार विस्तार र अत्यावश्यक आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन पनि प्रदेश सरकारसँग आग्रह गरिएको छ । अस्पतालले सिटी स्क्यान, आईसीयू तथा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सञ्चालनका लागि दक्ष जनशक्ति, डायलाइसिस सेवा सञ्चालन तथा शववाहन व्यवस्थापनका लागि समेत बजेट माग गरेको छ ।
यी सेवा सञ्चालन तथा विस्तारका लागि आवश्यक बजेट उपलब्ध गराउन सके बझाङका नागरिकले जिल्लामै गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए ।


















