धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारका पहिरो प्रभावित तथा विस्थापित परिवारको राहत, पुनस्र्थापना र जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले पहिरो प्रभावितको राहत तथा पुनस्र्थापना र चौलानी नदी किनारका बस्तीमा बढेको जोखिम न्यूनीकरणका लागि माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

मुख्यमन्त्री भट्टले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनस्र्थापनाका लागि आवश्यक पहल गर्ने बताए ।
भट्टारमा पहिरो निरन्तर खस्दा चौलानी नदी आंशिक रूपमा थुनिएपछि तटीय बस्तीमा जोखिम बढेको छ ।

















