धनगढी – भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका सुदूरपश्चिमका १४६ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका ९ जिल्लाका १४६ जना अझै सम्पर्कविहीन रहेका हुन् ।

प्रदेशभरका १८४ जना सम्पर्कविहीन भएकोमा ३८ जना परिवार र प्रहरीको सम्पर्कमा आइसकेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले सबैभन्दा बढी कैलालीका ८९ जना सम्पर्कविहीन भएकाकोमा २५ जना परिवारको सम्पर्कमा आइसकेको बताए ।

यस्तै, कञ्चनपुरका ४६ जनामा १० जना सम्पर्कमा आएका छन् । बाजुराका १८ जनामा दुई र डडेल्धुका १७ जनामा १ जना मात्रै सम्पर्कमा आएका छन् । एसएसपी बिष्टका अनुसार बैतडीका ८, दार्चुलाका चार तथा अछाम, बझाङ र डोटीका दुई–दुई जना सम्पर्कबाहिर छन् ।


















