अत्तरिया – भोटेकोशीमा आएको भीषण बाढी पछि राहत र उद्दारका लागि सुदूरपश्चिमबाट धमाधम सहयोग जुट्न थालेको छ । सुदूरपश्चिमका बिभिन्न स्थानीय तह, बिभिन्न संघसस्था, विद्यालय, अस्पतालले धमाधम सहयोग गर्न थालेका हुन । सरकारले नै सहयोगको आह्वान गरेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, प्रधानमन्त्री राहत कोषका रकम जम्मा र सहयोगको घोषणा गर्न थालिएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि दुई दिन बराबरको पारिश्रमिक तथा सेवा–सुविधा सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । नगरप्रमुख विरेन्द्र भट्टद्वारा हस्ताक्षरित अपिलमा नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीहरूले पाउने सेवा, सुविधा र पारिश्रमिकबाट दुई दिनको हुन आउने रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिने उल्लेख छ ।

यसैबिच बैतडीको शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जमा गर्ने निर्णय गरेका छन् ।
शिवनाथ गाउँपालिकाले विपदको यसघडीमा शिवनाथीबासी र गाउँपालिकाकातर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ जमा गर्ने निर्णय गरेको छ ।
यस्तै सिगास गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख र प्रधानमन्त्री राहत कोषमा ५० हजार गरी १ लाख ५० हजार रुपैयाँ जमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

बैतडीको दशरथचन्द नगरपालिकाले भोटेकोशी नदीमा आएका बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो ।
धनगढीस्थित माया मेट्रो अस्पतालले ३ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको हो ।
धनगढीस्थित चैतन्य पाठशालाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । चैतन्य पाठशालाले बाढी प्रभावित दिदीबहिनी तथा दाजुभाइको उद्धार, राहत तथा मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश कमिटी सचिवालय बैठकले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रदेश कमिटीको तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
यसैबिच कैलालीको धनगढीस्थित केजी हस्पिटल प्रालिले बाढी तथा पहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो ७ दिनको सम्पूर्ण आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ । अस्पतालले २०८३ भदौ ११ गतेदेखि १७ गतेसम्म स्वास्थ्य सेवा प्रदान गरेबापत प्राप्त हुने सम्पूर्ण रकम सरकारी राहत कोषमा जम्मा गर्ने जनाएको हो ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । विपद प्रभावित नागरिकहरुको उद्धार,राहत र व्यवस्थापनमा थप सहयोग पु¥याउने उद्देश्यले संघले राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको संघका महासचिव राहुल भट्टले जानकारी दिए ।
















