धनगढी – सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा रहेको त्रिनगर नाकाको निरीक्षण गरेका छन्। स्थलगत निरीक्षणका क्रममा पौडेलले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापन, सीमा पार अपराध, आवतजावतको अवस्थालगायत विषयमा नाकामा खटिएका सुरक्षा अधिकारीहरूसँग जानकारी लिएका छन् ।
उनले नाकामा आवतजावत गरिरहेका र स्थानीय नागरिकसँग कुराकानी गर्दै उनीहरूका गुनासा र समस्या सुनेका थिए। अनुगमनपछि कुरा गर्दै पौडेलले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनबारे बुझ्न आफू निरीक्षणमा आएको बताए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर नेपाल–भारत सीमा क्षेत्रमा ‘डेडिकेटेड फोर्स’का रूपमा सशस्त्र प्रहरी परिचालन गरिएको बताए।


सशस्त्र प्रहरीले सेवालाई थप नागरिकमैत्री बनाउन सीमामा साउन दोस्रो सातादेखि सफारी सुटमा ‘बोर्डर इन्टरएक्सन टिम (बिआइटी)’ खटाएको छ। सीमा क्षेत्रमा आवतजावत सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न सशस्त्रले काम गरिरहेको उल्लेख गर्दै उनले सुरक्षाका दृष्टिले नाकामा चेकजाँच गर्ने काम भइरहेको बताए । स्थानीयले सीमा क्षेत्रमा आवतजावतमा हुने कठिनाइलगायत विषयमा गुनासो गरेका थिए।
आफूहरू नाकालाई थप व्यवस्थित बनाएर जाने क्रममा रहेकोले त्यसका लागि नै कसरी चेकजाँच भइरहेको छ भनेर बुझ्न आफू फिल्डमा आएको उनले बताए। ‘मुख्य कुरा सुरक्षा चेकजाँच नै हो। यहाँ कुनै अपराध नघटोस् र आवतजावतमा पनि नागरिकलाई असहज नहोस्,’ पौडेलले भने, ‘र, सुरक्षाको पाटोबाट पनि त्यो व्यवस्थित होस् भन्ने कुरा नै बिटले फर्स्ट रेस्पोन्ड भएर हेर्ने हो।’ नाकामा नागरिकलाई झन्झट छ भने पनि त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने केन्द्रित भएर काम गरिरहेको उनको भनाइ थियो।
भारततर्फको गौरीफन्टा नाकामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरूले पनि सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई स्वागत गरेका थिए। यो सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका हो। त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक दुवै देशका सयौँ नागरिक आवतजावत गर्छन् ।
















