धनगढी – धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा उनका श्रीमान सहित परिवारका पाँच जनाविरुद्ध दर्ता गरिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट आदेश भएको छ । अदालतले मृतकका श्रीमान् भरत धामी र नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश ठाकुरप्रसाद पौडेलको इजलासले सोमबार सो आदेश गरेका हुन् । अदालतले प्रतिवादीमध्ये बाजे रामबहादुर धामी र बजै मिना धामीलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा फुपू सरस्वती धामी बोहोरालाई एक लाख रुपैयाँ धरौटी माग गरेको छ । पूजाका माइती पक्षले उनलाई दाइजोका कारण यातना दिइएको र सोही कारण हत्या गरिएको दाबी गर्दै उनका श्रीमान् भरतसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले भरत, रामबहादुर, मिना, सरस्वती र भावना धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

मृतकका माइती पक्षका तर्फबाट सरकारी वकिलका अतिरिक्त अधिवक्ता विनोदकुमार भट्ट र अधिवक्ता हिमालय बिष्टलेसमेत अदालतमा बहस गरेका थिए । कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग विवाह गरेकी थिइन् । गत साउन ११ गते पूजा आफ्नै घरमा सिलिङ पंखामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

















