अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि. ले बाल स्याहार केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीले महिलाहरुको सहजताका लागि स्याहार केन्द्र सञ्चालनमा ल्याएको हो ।
सो स्याहार केन्द्रको शनिबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै नगरप्रमुख भट्टले सुदूरपश्चिममा बाल स्याहार केन्द्र सञ्चालन गर्ने पहिलो सहकारी संस्थाका रुपमा सृजनशिल चिनिन सफल भएको बताए । उनले सहकारीलाई बहुउद्देश्यका साथ अगाडी बढाउन सफल भएको बताए । उनले सहकारी सबैको सहकार्यबाट मात्रै प्रगतीको उचाईमा जान सक्ने भएकाले सबैको साथ र सहकार्य आवश्यक हुने उनले बताए ।

साना साना व्यवसाय गर्दै आईरहेका र रोजगारी गर्दै आईरहेका महिलाहरुका लागि सृजनशिल सहकारीले गरेको कार्य एकदमै सह्रानिय भएको उनको भनाई छ । उनले बालबालिकाहरुको स्याहार गर्नुपर्ने अवस्थाका कारण रोजगारी र अन्य क्रियाकलापहरु सञ्चालन गर्न समस्या हुने गरेका महिलाहरुले आफ्ना शिशुहरुलाई स्याहार केन्द्रमा राखेर ढुक्क सँग रोजगारीमा जाने तथा व्यवसाय गर्न सक्ने वातावरण सृजना भएको बताए । उनले महिलाहरुलाई सशक्त बनाउनकै लागि सहकारीले यस्ता किसिमका विभिन्न क्रियाकलाप गर्दै आईरहेको बताए । उनले सहकारीले आम सर्वसाधारणहरुका लागि गर्ने यस्ता क्रियाकलापहरुका लागि नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले सहकारीहरुले महिलाहरुलाई रोजगारीमा जोड्न सफल भएको बताए । उनले बिना धितो ऋण दिने, आयआर्जनका कार्यमा संलग्न गराउने लगायतका कार्यहरु सहकारीहरुले गर्दै आएको बताए । उनले सहकारीका कारण महिलाहरु आत्मनिर्भर बन्न सकिरहेको बताउदै महिलाहरुलाई आफ्नै खुट्टामा उभिन सिकाउने कार्य सहकारीहरुले गरेको बताए । उनले सृजनशिलले सञ्चालनमा ल्याएको बाल स्याहार केन्द्र पनि त्यसको एउटा नमुनाका रुपमा रहेको बताए । उनले महिलाहरुलाई बालबालिकाको स्याहार सुसारबाट माथी उठाएर रोजगारी तथा व्यापार व्यवसायमा सहजता दिलाउने उद्देश्यले खोलिएको स्याहार केन्द्रले घरकै वातावरणमा बालबालिकाहरुको स्याहार सुसार गर्ने अपेक्षा लिएको बताए ।
संस्थाकी अध्यक्ष भावना खड्काले सबैको साथ र सहयोगले सुदुरपश्चिममा सहकारीमार्फत पहिलो पटक बाल स्याहार केन्द्र सञ्चालनमा ल्याउन सफल भएको बताईन । उनले स्याहार केन्द्र सञ्चालनका लागि सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरिन । उनले बालबालिकाहरुलाई बोर्डिङ स्कुल तथा मन्टेश्वरीहरुमा चर्काे मुल्य तिरेर भर्ना गर्नुपर्ने बाध्यता पनि अब महिलाहरुमा नरहने बताईन । उनले स्याहार केन्द्रले महिलाहरुलाई आयआर्जनका लागि छुट प्रदान गर्न सहयोग गर्ने बताईन । उनले नगरका सबै महिलाहरुका लागि स्याहार केन्द्र सञ्चालन गरिएकाले जुनसुकै स्थानबाट पनि बालबालिकाहरुलाई स्याहार केन्द्रमा राख्न सकिने बताईन ।
संस्थाले आर्थिक रुपमा सक्रिय हुन सक्ने महिला, युवा तथा अन्य सदस्यहरु बाल स्याहार तथा हेरचाहमै सीमित हुन बाध्य हुँदा आयआर्जनका अवसरहरुबाट बञ्चित भईरहेको अवस्थाको अन्त्य गर्नका लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । संस्थाकी व्यवस्थापक गौरी चौधरीका अनुसार राष्ट्रिय सहकारी महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आइ. एल. ओ.) सँगको साझेदारीमा बाल स्याहार केन्द्र सञ्चालनमा ल्याईएको हो । उनले सुदूरपश्चिममा सृजनसिलले मात्रै बाल स्याहार केन्द्र सञ्चालनमा ल्याएको बताईन । उनका अनुसार देशभर कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका एक÷एक वटा सहकारीहरुले मात्रै सो स्याहार केन्द्र सञ्चालन गरिरहेका छन् ।
संस्थाले आमाहरुलाई ढुक्कसँग रोजगारी, व्यापार वा व्यवसायमा जोडिने वातावरण निर्माण गर्न, भरपर्दो र गुणस्तरीय बाल विकास गर्न तथा बालबालिकामा सिर्जनशील सिकाइ र संस्कारको जग बसाल्न स्याहार केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा लिएको छ ।


















