धनगढी – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएकी छिन । मन्त्री रावलले सम्पूर्ण भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने कार्यलाई सरकारले अभियानका रुपमा अघि बढाएको बताइन ।

शनिबार धनगढीमा भूमि समस्या समाधान समिति कैलालीको बैठकमा मन्त्री रावलले ६ सय दिन भित्र लालपुर्जा वितरण गरिसक्ने सरकारी लक्ष्य रहेकाले भूमि सम्बन्धी कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन ।

भूमि समस्या समाधान कार्यका लागी सरकारले आवश्यक स्रोत साधन, जनशक्ति उपलब्ध गराउने भन्दै उनले स्थानीय तहसँग समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिइन । मन्त्री रावलले कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताइन ।
अर्को प्रसङ्गमा मन्त्री रावलले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने काम सुरुवाती भइसकेको बताइन । सरकारले हाल सम्म ४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता गरेको उनले बताइन । मन्त्री रावल कैलाली र कञ्चनपुर जिल्लाको भ्रमणका लागि शनिबार धनगढी पुगेकी छन ।


















