सन्ताेष पन्त, बेलौरी – पछिल्लो समय नेपाली युवाहरू भारतमा लागू औषध ब्राउन सुगर सहित पक्राउ परिरहेका छन् । भारतसँग खुल्ला सीमामा रहेको कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्रका लखिमपुर खिरी र गौरीफन्टा सीमा क्षेत्रमा नेपाली युवाहरू ब्राउन सुगरसहित पक्राउ परिरहेका छन् ।

नेपाल तर्फ सीमामा सादा पोसाकका प्रहरीले कडा निगरानी गर्न थालेपछि भारतमा हप्ता दिनमै ६५ ग्राम बढी ब्राउन सुगर सहित ४ जना पक्राउ परिसकेका छन् । बुधवार भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको तिकुनिया थाना क्षेत्रअन्तर्गत रननगर गाउँबाट कैलालीका २ युवकलाई ९ ग्राम ५ सय ५० मिलिग्राम ब्राउन सुगर लागु औषध (ब्राउन सुगर) सहित भारतीय प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहाका ३० वर्षीय मोतीराम बजगाई र २७ वर्षीय खडक विष्ट रहेका छन्। उनीहरूलाई तिकुनिया प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले पक्राउ गरेको थियो। भारतीय प्रहरीका अनुसार उनीहरू विरुद्ध तिकुनिया थानामा नार्कोटिक ड्रग्स एन्ड साइकोट्रोपिक सब्स्टान्सेस एक्ट १९८५ को धारा ८/२१ अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको गौरीफन्टाबाट बैतडीका युवक पनि लागु औषध (ब्राउन सुगर) सहित पक्राउ परेका छन्।भारतीय प्रहरीका अनुसार १७ अगस्टमा गौरीफन्टा क्षेत्रको डिगनिया तिराहा नजिक गौरीफन्टा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले बैतडीको पाटन नगरपालिका-३ का विनोदप्रसाद भट्टलाई ४.३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो।उनी विरुद्ध भारतको लागू औषधसम्बन्धी कानुन एनडीपीएस ऐनको धारा ८, २१ र २३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

त्यस्तै कञ्चनपुरका अर्का युवक पनि ठुलो परिणामको लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका छन्। भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी ४९ औँ बटालियन)को संयुक्त टोलीले नेपाल-भारत सीमा स्तम्भ ७६९/२३ भन्दा करिब १ सय ५० मिटर टाढा बसही गाउँबाट ५२.९५ ग्राम ब्राउन सुगर सहित
कञ्चनपुरको कलुवापुरका मुकेशसिंह कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बिरुद्ध नारकोटिक्स डग्स एण्ड साइकोटोपिक सब्स्टान्सेस एक्ट १९८५ को धारा ८, २२ र २९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
भारतमा प्रहरी र एसएसबीको संयुक्त गस्ती टोलीले लागु औषध तस्करीको आपराधिक षड्यन्त्र वा सञ्जालमा संलग्नमाथि कडा निगरानी गरिरहेको छ । तर व्यवसायी रूपमा बिक्री गरिरहेका भारतीयहरु माथी भने कुनै एक्सन लिइरहेको छैन । सहजै सीमा पारी लागु औषध पाइने लोभमा नेपाली युवाहरू भारतमै पुग्ने गरेका छन् ।
















