धनगढी – कैलालीमा भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको ८१ ग्राम ८८० मिलिग्राम सुन सहित एक जना पक्राउ परेका छन । मंगलबार प्रहरीले धनगढी उपमहानगरपालिका – १ बाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ निवासी ३६ वर्षीय दिपक गौरलाई अवैध सुन सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्दा गौरको खल्तीबाट उक्त सुनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको मूल्य २१ लाख ६२ हजार १ सय २३ रुपैयाँ बराबर रहेको बताइएको छ।

प्रहरीले गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिल फेला परेपनि उक्त बिलमा पसलको छाप नरहेको र बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि प्रहरीले भन्सार छली गरी ल्याएको आशंकामा उक्त पदार्थ बरामद गरेको जनाएको छ।
बरामद सुन र पक्राउ परेका गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको जिल्लाा प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

















