खाेज्नुहाेस

गुरही पर्वमा कानुनी अधिकार र न्यायमा पहुँचबारे बृहत् सचेतना कार्यक्रम

Image

कैलाली – थारु समुदायको मौलिक सांस्कृतिक पर्व गुरहीको अवसरमा महिला, दलित, जनजाति तथा सीमान्तकृत समुदायको कानुनी अधिकार र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले कैलारी गाउँपालिकाको हसुलिया बजारमा बृहत् सांस्कृतिक तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कैलारी गाउँपालिका र बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कैलारी गाउँपालिकाको समन्वय तथा यूएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (एटुजे–२) अन्तर्गत कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

attariya hospital

महिला तथा सीमान्तकृत समुदायलाई कानुनी सहायता, जवाफदेहिता र जनकेन्द्रित न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिमार्फत अधिकारसम्बन्धी सन्देश प्रवाह गरिएको थियो ।

कार्यक्रममा विभिन्न वडाबाट सहभागी महिला, दलित, जनजाति तथा विपन्न समुदायका व्यक्तिहरूले समान अधिकार, न्याय तथा सेवासुविधामा पहुँच, समानता, समान ज्याला र राज्यका विभिन्न निकायमा सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वलगायत विषयमा सचेतनामूलक नाटक, गीत, नृत्य, कविता तथा सन्देशमूलक जिङ्गल प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले गुरही पर्वका माध्यमबाट थारु कला, संस्कृति र पहिचानको संरक्षणसँगै महिला, दलित तथा सीमान्तकृत समुदायका अधिकारबारे सचेतना फैलाउन कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

navjiwan hospital

उनले सांस्कृतिक कार्यक्रमसँगै कानुनी सचेतनालाई जोड्दा समुदायमा आफ्ना अधिकारबारे जानकारी बढ्ने र न्यायमा पहुँच स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरीले गुरही पर्वमा महिला तथा सीमान्तकृत समुदायका अधिकार र कानुनी सचेतनालाई जोडेर आयोजना गरिएको कार्यक्रम नमुना भएको बताइन् । यस्ता कार्यक्रमले गाउँ–गाउँमा कानुनी तथा सामाजिक जागरण फैलाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रममा कैलारी गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद चौधरी, थारु कल्याणकारी सभाका सभापति कृष्ण चौधरी, एमपिडिएसकी चन्द्रा शर्मा, राजेन्द्र रैका तथा महिला अधिकारकर्मीलगायतले मन्तव्य राखेका थिए ।

थारु महिला सञ्जालकी अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सरिता चौधरीले गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका तथा वडाका जनप्रतिनिधि र कर्मचारी, स्थानीय संघसंस्था, बडघर–भलमन्सा, सहकारी, वन समिति तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम स्थानीय संघसंस्था, सहकारी समूह तथा सञ्चारमाध्यम सँगको समन्वय र सहकार्यमा आयोजना गरिएको आयोजकले जनाएको छ ।