बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।
बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताए । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।

यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए।
बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिए। त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए ।
‘मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ । मन्दिर जाने मार्गमा संकेत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ’, उनले भने।
यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताए । त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उनले जानकारी दिए ।
यस वर्ष मेला अगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण कार्य प्रभावित भएको छ ।

















