खाेज्नुहाेस

सुदूरपश्चिममा ओभरलोड बोकेका ४५७ सवारी साधन कारबाहीमा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा तोकिएको क्षमताभन्दा बढी भार बोकेर सञ्चालन भएका ४५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि ३० गतेसम्म ओभरलोड बोकेका सवारी साधनलाई कारबाही गरिएको हो ।

attariya hospital

ओभरलोड बोकेका ४५७ वटा सवारी साधनलाई कारबाही गरी ३ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेशका विभिन्न स्थानमा सवारी साधनको चेकजाँचलाई कडाइ गरिएको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनले ओभरलोडका कारण सडकमा सवारी सञ्चालन असुरक्षित हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने भएकाले नियमित रूपमा अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको बताए ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि ३० गतेसम्म प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४८९ वटा सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनबाट ३७ लाख ९० हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।

navjiwan hospital

यस अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ८७ जना चालकलाई समेत कारबाही गरिएको छ । उनीहरूबाट ४ लाख ३८ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूको स्वास्थ्य परीक्षण दुईपटक गर्दा ७ जनामा लागूपदार्थ सेवन गरेको पोजेटिभ देखिएको थियो । उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको र एक जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरालाई लेखी पठाइएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था, भार क्षमता, नम्बर प्लेट तथा आवश्यक कागजातको समेत नियमित चेकजाँच गरिरहेको छ । कैलाली र कञ्चनपुरमा तीनपाङ्ग्रे अटोमा सिरियल नम्बर सहितको स्टिकर टाँस्ने अभियानसमेत सञ्चालन गरिएको छ ।

यसैगरी, स्वामित्व नखुलेका १७ वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ । गैरकानुनी रूपमा चलाइएका तथा धनी नखुलेका मोटरसाइकल नियन्त्रण गर्ने अभियानअन्तर्गत विभिन्न मोडलका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए ।

कार्यालयका अनुसार सवारी तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई सामाजिक सञ्जालबाट समेत पहिचान गरी कारबाही गर्ने अभियानलाई निरन्तरता दिइएको छ । सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएका कालो स्टिकर हटाउने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई नम्बर प्लेट लेख्न लगाउने तथा सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्यसमेत भइरहेको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा गोदावरी नगरपालिका, स्वास्थ्य संस्था, यातायात व्यवसायी तथा चालक–सहचालकको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

साउन १ गतेदेखि ३० गतेसम्म सुदूरपश्चिम प्रदेशमा २०३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १२ जनाको मृत्यु, १०३ जना गम्भीर घाइते र १९८ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । दुर्घटना न्यूनीकरणका लागि ओभरलोड, मादक पदार्थ सेवन तथा अन्य ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाहीलाई थप प्रभावकारी बनाइने प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।