खाेज्नुहाेस

ओलानीमा तरकारी खेती प्रोसेसिङ्ग तथा पुनर्ताजगी तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको ओलानीमा तीन दिने तरकारी प्रोसेसिङ्ग तथा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका–११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्थाको आयोजनामा साउन २६ गतेदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो ।

नेपाल सरकार, युरोपियन युनियनको आर्थिक सहयोग, युएन वुमन र आसमान नेपालको साझेदारीमा सहकारीले आयोजना गरेको तालिममा २५ जना महिला कृषकको सहभागिता रहेको थियो ।

attariya hospital

तालिममा सहभागी कविता विकले तीन दिने तालिम निकै प्रभावकारी रहेको बताइन् । उनले यसअघि सञ्चालन गरिएको १५ दिने तालिमको पुनर्ताजगी तालिम भएकाले आफूहरूलाई थप प्रोत्साहन मिलेको बताइन् ।

navjiwan hospital

तालिमको बिहीबार सहकारीका अध्यक्ष कृष्ण विकको अध्यक्षतामा आयोजित कार्यक्रमबीच समापन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष विकले ओलानी क्षेत्रका महिलालाई स्वरोजगार बनाउन तालिम आयोजना गरिएको बताए । उनले तालिमले कृषिमा आबद्ध महिलाको हौसला बढाउनुका साथै उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग पुग्ने बताए ।

‘ओलानी क्षेत्रको विकासका लागि कृषिमा जोड दिन आवश्यक छ । त्यसका लागि सहकारीले यस्ता विभिन्न तालिम आयोजना गर्दै आएको छ,’ उनले भने, ‘यो तालिमले महिलालाई कृषिमा लाग्न थप हौसला मिल्ने अपेक्षा गरेका छौँ ।’ उनले ओलानीको कृषि क्षेत्रको विकासका लागि आगामी दिनमा पनि सबैको साथ र सहयोग पाउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि आसमान नेपालका प्रदेश संयोजक सुर्जन नेपालीले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना अन्तर्गत महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले महिलालाई उद्यमशील बनाउँदै सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पनि यस क्षेत्रका महिलालाई सशक्त बनाउन आवश्यक सहयोग र परामर्शका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समापन कार्यक्रममा महिला उद्यमी संघ कैलालीकी अध्यक्ष सुनी भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक गणेश विकले गरेका थिए ।