अत्तरिया – कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा ५ सय शय्या थप गरिँदै छ । हाल अस्पताल ५० शय्याको अनुमति लिएर सञ्चालनमा रहेको भए पनि यसमा नेपाली सेनाको जिम्मा दिएको धनगढीको होल्डिङ सेन्टरबाट ५ सय शय्या थप गर्न लागिएको हो । शिक्षण अस्पतालमा यसअघि नै ३ सय शय्या रहेका थिए । होल्डिङ सेन्टरबाट ल्याइएका गरेर शय्याको सङ्ख्या ६ सय पुग्ने छ ।
होल्डिङ सेन्टरबाट शय्या सार्ने काम मंगलबार देखि सुरु गरिएको छ । धनगढी उपमहानगरले शय्या ढुवानीका लागि टिप्पर सहयोग गरेपछि होल्डिङ सेन्टरका शय्या सार्ने काम सुरु गरिएको विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशीले बताए । उनले गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी अन्तरगत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले बताए । उनले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायतका काम अन्तिम चरणमा पुगेको बताए ।

गेटामा यसै शैक्षिक सत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । त्यसअनुसार आवश्यक बजेट पनि व्यवस्थापन भइसकेको छ । गेटामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने प्रदेश सरकारको निर्णय पनि गरिसकेको छ ।

प्रदेश सरकारले कैलालीको सेती, लम्की चुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
प्रादेशिक अस्पतालका शय्या देखाएर गेटामा रहेको शिक्षण अस्पताल विस्तारमा अवरोध हुन्छ की भन्ने आशङ्काका बिच शिक्षण अस्पताललाई पनि सँग सँगै विस्तार गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयमा यसै वर्षदेखि शैक्षिक सत्रदेखि एमबिबिएस ५० जना, बिएस्सी नर्सिङ ३० जना, बिएस्सी मेडिकल ल्याब टेक्नोलोजी एमएलटी–२० जना र बी अप्टोमेट्री २० जना कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको छ । आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी बाँकी प्रक्रिया अगाडि बढाउने विषयमा आवश्यक निर्णय दिने जनाइएको छ ।

















