धनगढी –स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साबिकको गेटा अस्पतालमा कार्यरत आफ्ना स्थायी कर्मचारीलाई अर्को निर्णय नभएसम्म कामकाजमा लगाउन सहमति दिएको छ ।
मन्त्रालयले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताल धनगढीलाई पत्र पठाउँदै साबिकको गेटा अस्पतालमा कार्यरत स्थायी कर्मचारीको व्यवस्थापन गर्न भनेको हो ।


अर्को निर्णय नभएसम्मका लागि ती कर्मचारीलाई शिक्षण अस्पतालमै कामकाजमा लगाउने व्यवस्था गर्न पत्रमार्फत अनुरोध गरिएको छ । गेटामा यसअघि स्वास्थ्य मन्त्रालय मातहत अस्पताल सञ्चालन हुँदै आएको छ ।
उक्त अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण भएपछि काजमा खटाइएका स्वास्थ्यतर्फका कर्मचारीको काज फिर्ता हुने चर्चा थियो । तर, मन्त्रालयले ती कर्मचारीलाई तत्काल गेटाकै अस्पतालमा कामकाजमा खटाउन सहमति प्रदान गरेको हो ।















