अत्तरिया – कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा विद्यार्थीका लागि स्मार्ट ई–हाजिरी प्रणाली जडान गरिएको छ । विद्यार्थी विद्यालयमा प्रवेश गर्नेबित्तिकै अभिभावकलाई समेत सन्देश (नोटिस) जाने प्रविधिसहितको स्मार्ट ई–हाजिरी प्रणाली जडान गरिएको हो । उक्त प्रविधिअन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई क्युआर कोड रहेको आइडी कार्ड उपलब्ध गराइएको छ । विद्यार्थीले उक्त कार्ड ई–हाजिरी मेसिनमा देखाउनेबित्तिकै गेटमै हाजिरी लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले बताए । उनका अनुसार विद्यार्थी गेटमा प्रवेश गर्नेबित्तिकै स्वतः हाजिरी हुने व्यवस्था गरिएको छ ।
‘यो हाजिरी लगाउँदा विद्यार्थी गेटमा इन्ट्री हुनेबित्तिकै अभिभावकलाई पनि नोटिस (सन्देश) जान्छ,’ उनले भने, ‘विद्यार्थी गेटबाट बाहिर जाँदा पनि त्यसैगरी अभिभावकलाई नोटिस जान्छ ।’ उनले विद्यालयले आफ्नै व्यवस्थापनमा यो प्रणाली जडान गरेको बताए ।

स्मार्ट ई–हाजिरी प्रणाली केही विद्यार्थी घरबाट विद्यालयका लागि हिँडे पनि बाटोमै हराउने समस्या देखिएकाले त्यसको समाधानका लागि निकै प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले बताए । ‘केही अभिभावकबाट विद्यार्थी घरबाट विद्यालय आए पनि कक्षाकोठामा नपुग्ने र बाटोमै हराउने समस्या आएको थियो,’ उनले भने, ‘यो ई–हाजिरी प्रणालीमा विद्यार्थी विद्यालयमा पुग्नेबित्तिकै अभिभावकको मोबाइलमा सन्देश जाने भएकाले अभिभावकले विद्यार्थी विद्यालय पुगेको तत्काल थाहा पाउनेछन् ।’ उनका अनुसार विद्यार्थी विद्यालयबाट घर जाने बेलामा पनि अभिभावकको मोबाइलमा सन्देश जाने व्यवस्था गरिएको छ ।

उनले यो प्रविधिको प्रयोगसँगै विद्यालयमा हाजिरी लगाउनुपर्ने झन्झट पनि हट्ने बताए । कक्षा शिक्षकले कति विद्यार्थीले ई–हाजिरी लगाएर गेटबाट प्रवेश गरे भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने व्यवस्था रहेको उनले बताए । ‘कक्षा शिक्षकले ई–हाजिरी गरेका र कक्षामा उपस्थित भएका विद्यार्थीको सङ्ख्या रुजु गर्न सक्नेछन्,’ उनले भने, ‘कुनै विद्यार्थीको ई–हाजिरी छुटेको भए शिक्षकले कक्षाकोठाबाटै हाजिरी लगाइदिन सक्छन् ।’
यसका साथै अभिभावकले विद्यार्थीले होमवर्क गरे–नगरेको तथा प्रोजेक्ट वर्क गरे–नगरेको समेत जानकारी पाउन सक्ने उनले बताए । ‘यसै प्रणालीअन्तर्गत अभिभावकले ‘पाठशाला’ मोबाइल एप डाउनलोड गरेर आफ्ना विद्यार्थीको युजरनेम र पासवर्डबाट लगइन गरी अन्य शैक्षिक गतिविधि, होमवर्क र प्रोजेक्ट असाइनमेन्टका बारेमा जानकारी पाउन सक्नेछन्,’ उनले भने, ‘यसमा विद्यालयका सूचनासमेत राखिने भएकाले अभिभावकले तत्काल जानकारी पाउन सक्नेछन् ।’ उनले समग्र शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत नै ई–हाजिरी प्रणाली लागू गरिएको बताए ।
स्मार्ट ई–हाजिरी प्रणाली जडान भएपछि कक्षाकोठामा विद्यार्थीको हाजिरी लगाउनुपर्ने झन्झट हट्ने शिक्षक तपराज ओझाले बताए । उनका अनुसार विगत ५–६ दिनदेखि यो प्रविधि परीक्षणका रूपमा सञ्चालन भइरहेको छ । छिटै यसबाट गरिएको इन्ट्रीलाई नै विद्यार्थीको हाजिरीका रूपमा मान्यता दिइने उनले बताए ।यसले कक्षाकोठामा दैनिक रजिस्टरमा हाजिरी लगाउनुपर्ने झन्झट हट्नुका साथै समयको समेत बचत हुने उनले बताए ।
अत्यधिक विद्यार्थी चाप रहेको यस विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म करिब २६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अनुसार ती सबै विद्यार्थीका लागि ई–हाजिरी कार्ड निर्माण गरिसकिएको छ ।



















