धनगढी — केदार भागेश्वर बरालगाउँ समाज धनगढीको अध्यक्षमा चेतराज जोशी पुनः सर्वसम्मत चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न समाजको दोस्रो साधारणसभाले जोशीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
साधारणसभाले समाजको उपाध्यक्षमा लक्ष्मी जोशी (बढैपुर), सचिवमा पुष्पराज जोशी (उत्तरबेहडी), सहसचिवमा श्यामसुन्दर जोशी (फूलबारी) र कोषाध्यक्षमा सिद्धराज जोशी (जाइँ) चयन गरेको छ।

त्यस्तै सदस्यहरूमा हेमराज जोशी (मट्कौना), विष्ना जोशी (हसनपुर), लक्ष्मी पाठक जोशी (जाइँ), कल्पना जोशी (अत्तरिया), रामबहादुर बिक (गाउँ धनगढी), केवलसिंह खत्री (बसन्तपुर), खेमराज जोशी (कैलाशपुर) र माधव जोशी (शंकरपुर) चयन भएका छन्।


डोटीको बडिकेदार गाउँपालिका–४ बरालगाउँलाई पुर्ख्यौली थलो भई हाल कैलालीको मसुरिया, चौमाला, कैलारी गाउँपालिका, अत्तरिया र धनगढीलगायतका क्षेत्रमा बसोबास गर्दै आएका बरालगाउँवासीको सहभागितामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा सहभागीहरूले बरालगाउँवासीबीचको आपसी एकता, भाइचारा र सद्भावलाई थप मजबुत बनाउँदै समाजलाई आगामी दिनमा अझ चलायमान, सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
समाजले बरालगाउँवासीबीच आपसी सहयोग र समन्वय बढाउनुका साथै सामाजिक, सांस्कृतिक तथा पुर्ख्यौली गाउँको विकास र संरक्षणका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
नवनिर्वाचित अध्यक्ष जोशीले समाजलाई सबै बरालगाउँवासीको साझा संस्था बनाउँदै एकता, सहकार्य र सामाजिक उत्तरदायित्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

















