खाेज्नुहाेस

सेतीका चिकित्सकले ड्युटी छोडेर निजी क्लिनिकमा जान नपाउने

Image

धनगढी –  सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो ।

navjiwan hospital

मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी सूचनामा केही चिकित्सक कार्यालय समयमै बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा सेवा दिने गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको उल्लेख छ ।

attariya hospital

अस्पताल प्रशासनका अनुसार सरकारी अस्पतालको सेवा प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन सबै चिकित्सकले कार्यालय समयभरि आफ्नै कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेछ । यसबाट बिरामीले समयमै चिकित्सकीय सेवा पाउने र अस्पतालको सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

सूचनामा कार्यालय समयभित्र कुनै चिकित्सक निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइए प्रचलित कानुन तथा सेवा–शर्तबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ । सेती प्रादेशिक अस्पतालले सरकारी सेवाप्रतिको जवाफदेहिता बढाउन र बिरामीलाई सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ ।