अत्तरिया – सुदूरपश्चिममा ट्राफिक प्रहरीले क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि कडाइ गरेको छ । विशेष गरेर सुदूरपश्चिमको पहाड रुटमा चल्ने मालवाहक ट्रकहरूमा क्षमता भन्दा बढी भार बोकेको पाइएमा प्रहरीले कारबाही गर्न थालेको हो ।
गोदावरीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टमा प्रहरीले सवारी साधनको भार लिएर मात्रै पठाउने गरेको छ । क्षमता भन्दा बढी भार बोकेको पाइएमा जरिवाना गर्ने देखि सामान निकाल्न लगाउने गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख नवराज कार्कीले ट्रकहरूको भार क्षमता चेकजाँचमा कडाइ गरिएको बताउँदै क्षमता भन्दा बढी सामान बोकेको पाइएमा जरिवाना गराउने र सामान झार्ने काम गरिएको बताए । केन्द्रबाट पछिल्लो पटक आएको निर्देशन अनुसार कडाइ गरिएको उनको भनाई छ ।
ट्राफिक प्रहरीले क्षमता भन्दा बढी भार बोक्ने ट्रकहरूमा कडाइ गरे पनि यातायातको मापदण्डका कारण भने अन्योल बढाएको छ । यातायात कार्यालयबाट जारी गरिएका सवारी धनी प्रमाणपत्र (ब्लु बुक) मा कसैमा ट्रकले बोक्न सक्ने सामानको तौल लेखिएको छ भने कसैमा कुल सामान सहितको ट्रकको तौल लेखिएकाले अन्योल हुने गरेको छ ।
ट्रक व्यवसायी हरि महराले यातायातबाट ब्लु बुकमा उल्लेख गरे अनुसारको सामान बोक्दा पनि ट्राफिकको फरक मापदण्डका कारण आफूहरूले दुःख पाउनु परेको बताए । ‘मेरो ट्रकको ब्लु बुकमा २१ टन सामान बोक्न सक्ने उल्लेख गरिएको छ । त्यही अनुसार सामान बोक्दा पनि ट्राफिकले जरिवाना तिर्न भनिरहेको छ’ गोदावरी चेक पोस्टमा भेटिएका उनले भने ‘यातायातले उल्लेख गरे अनुसार सामान बोक्दा पनि ट्राफिक प्रहरीले सवारी साधनको कुल तौलका (जीभीडब्लु) अनुसार बढी लोड भयो भनिरहेको छ । हामीले यातायात कार्यालयले दिएको अनुमति अनुसार सामान बोक्दा पनि किन कारबाही भोग्नु परिरहेको छ ।’

उनले यातायातको नियम अलग र ट्राफिकको नियम अलग हो भनेर प्रश्न गरे । विगत लामो समय देखि यातायातले तोकेको क्षमता अनुसार सामान बोकिरहेको भए पनि गोदावरी ट्राफिक पोस्टमा केही दिन देखि जीभीडब्लु अनुसार मात्रै बोक्न पाइन्छ भनेर आफूहरूलाई जरिवाना गराइरहेको उनले बताए ।
उनले आफूले २१ टन भनेर कर तिरिरहेको भए पनि हाल आएर तोकेको क्षमता अनुसार सामान लग्न ट्राफिकले रोक्न थालेपछि आफूहरू मारमा परेको बताए ।
‘मैले यो रुटमा ५ वर्ष देखि सवारी साधन चलाई रहेको छु । ब्लु बुकमा यातायात कार्यालयले दिएको अनुमति अनुसार २१ टन सामान बोकेर ढुवानी गरिरहेका थियौ’ उनले भने ‘३/४ दिन देखि प्रहरीले जीभीडब्लु नियम अनुसार चल्नुपर्छ भन्छ तर हाम्रो ब्लु बुकमा जीभीडब्लु उल्लेख नै छैन’ उनले भने ‘कि यातायातले हाम्रो ब्लु बुकमा जीभीडब्लु उल्लेख गरिदिनुप-यो कि ट्राफिकले यातायातले दिएको अनुमति अनुसार सामान ढुवानी गर्न दिनुप¥यो ।’
अर्का यातायात व्यवसायी पदम ठगुन्नाले पनि २१ टन सामान बोक्ने यातायात कार्यालयले अनुमति दिए पनि ट्राफिक प्रहरीले १ हजार जरिवाना तिराउन लगाइरहेको बताए । उनले देश भरी अन्य ठाउँमा यस्तो नभने पनि गोदावरीको चेक पोस्टमा मात्रै विगत ३÷४ दिन देखि जरिवाना तिर्न लगाइएको बताए ।
ट्राफिक प्रहरीले भने केन्द्रबाट नै गरिएको निर्देशन अनुसार जीभीडब्लु अनुसार बढी क्षमता भएका सवारी साधनलाई कारबाही गरिएको जनाएको छ । तर, केही सवारी साधनका ब्लु बुकमा जीभीब्लु उल्लेख भए पनि धेरै सवारी साधनको ब्लु बुकमा भने ट्रकले बोक्न मिल्ने सामानको तौल मात्रै लेखेकाले कुन आधारमा कारबाही गर्ने भन्ने अन्योल कायमै छ ।
यद्यपि ट्राफिक प्रहरीले भने जीभीब्लु उल्लेख नभएका ट्रकलाई सोही मोडेलको अर्को ट्रकको तौल सँग जुधाएर जीभीब्लु निकाल्ने गरेको छ । अन्दाजका भरमा निकालिएको जीभीब्लुका आधारमा कारबाही गरिएको भन्दै ट्रक धनीले विरोध गर्दा विगत केही दिन यता ट्राफिक पोस्ट गोदावरीमा विवाद हुने गरेको छ । ट्रक व्यवसायीले यातायातबाटै नै सबै ट्रकको जीभीब्लु उल्लेख गरेपछि मात्रै कारबाही गर्न माग गरेका छन् ।


















