अत्तरिया– कैलालीको अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउस र सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक एवम् खाद्यान्न सामग्री सहयोग गरिएको छ । गोदावरी नगरपालिका– ६ बस्ने युवा नेता शंकर खड्काले जन्मदिनको अवसरमा उक्त दुई स्थानमा शैक्षिक एवम् खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

साामजिक कार्यमा सक्रिय सहभागिता जनाउने खड्काले मंगलबार परेको ४३औ जन्मदिनको अवसरमा दुवै संस्थाहरुलाई ११ हजार बराबरका शैक्षिक एवम् खाद्यान्न सामग्री सहयोग गरेको बताए । उनले जन्मदिनमा गरिने फजुल खर्च कटाएर आफूले आवश्यकता भएका क्षेत्रमा सहयोग गरेको समेत बताए ।

‘जन्मदिनमा पार्टीका नाममा गरिने फजुल खर्चको साटो आवश्यकता परेको क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने सोचेर मैले अत्तरियामा रहेको महिला तथा बालबालिका र अपांगता भएका बालबालिकाहरु अध्ययनरत विद्यालयलाई सहयोग गरेको हु’ उनले भने ‘यो मेरो सानो सहयोग हो, तर यसले अन्य व्यक्तिहरुलाई पनि फजुल खर्च नगरी कुनै सामाजिक कार्यमा सहयोग गर्नुपर्छ भन्ने सोच जानेछ भन्ने मैले अपेक्षा लिएको छु ।’
उनले आफूले शिक्षामा क्रान्ती गर्ने बालबालिकाहरु उत्पादन गर्न सहज होस र शैक्षिक सामग्री अभावका कारण कसैको अध्यापनमा समस्या नहोस भन्ने हेतुले शैक्षिक सामग्री सहयोग गरेको बताए । खडकाले आफ्नो खुशीको क्षणमा कुनै न कुनै सामाजिक कार्य गर्ने योजना बनाएको समेत बताए ।


















