खाेज्नुहाेस

सामाजिक सद्भावका लागि सुदूरपश्चिम सरकारले बढायो अग्रसरता

Image

अत्तरिया – सुनसरीको कप्तानगन्ज घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै सुदूरपश्चिम सरकारले सामाजिक सद्भाव धार्मिक सहिष्णुता र शान्ति कायम राख्नका लागि अग्रसरता बढाएको छ । कप्तानगन्ज घटनापछि मधेस प्रदेश सहित कोसी प्रदेश अशान्त बनेका बेला सुदूरपश्चिम सरकारले पूर्व सतर्कता सहित अग्रसरता बढाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शनिवार मात्रै प्रदेश प्रमुख सँगै प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । प्रदेशका सुरक्षा निकायका प्रमुख सँग गरिएको छलफलमा सुनसरी र सिराहा लगायतका क्षेत्रमा भइरहेको सामाजिक धार्मिक द्वन्द्व लगायतको परिवेशको प्रभाव यस प्रदेशमा पर्न सक्ने जोखिम प्रति पूर्व सचेत रहँदै सामाजिक सद्भाव कायम गर्ने गराउने सम्बन्धमा सार्वजनिक अपिल गरिएको र सबै जिल्लामा सद्भाव ¥यालीको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयहरूमा सूचित गरिएको छ ।

साथै उक्त घटनाको कारण यस प्रदेशमा पनि शान्ति सुरक्षामा खलल पुग्न सक्ने सम्भाव्य घटनाको पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायहरूबाट पूर्व सतर्कता अपनाउन सबै सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ । बैठकमा मुख्यमन्त्री शाह, प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल, सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति (उपरथी) किरण केसी, उपरथी पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ वाहिनीका बहिनी पति दिगबिजय सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

attariya hospital

सुरक्षा निकायका प्रमुख सँगको छलफल पछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँ सँग भेटघाट गरेका छन् । भेटमा भेटमा सुनसरी र सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव यस प्रदेशमा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था र विकासका सन्दर्भमा पनि आपसी छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

navjiwan hospital

यसैबिच शनिवार मुख्यमन्त्री शाहले एक अपिल जारी गरी नेपाल बहु जातीय, बहुभाषिक र बहु धार्मिक विशेषता बोकेको मुलुक भएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक उत्सवहरू मनाउँदा एक अर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गरेका छन् । अपिल मार्फत सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न अनुरोध गरिएको छ । यस्तै, कानुन हातमा लिने, सामाजिक सद्भाव भड्काउने तथा अराजकता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय सक्रिय रहेको मुख्यमन्त्री शाहको अपिलमा उल्लेख छ । प्रदेशका नागरिकलाई संयतता अपनाई कुनै गतिविधि गर्नु परे स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

सुनसरी घटनाको सम्भावित प्रभावलाई दृष्टिगत गर्दै खुला सीमाका कारण हुन सक्ने घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न सुदूरपश्चिमका सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन पनि दिइएको छ । यस्तै, प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रही सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत निर्देशन दिइएको अपिलमा उल्लेख छ ।

यस्तै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समाजमा उत्तेजना, घृणा र वैमनस्य फैलाउने गरी सार्वजनिक अफवाह र गलत सूचना प्रवाह गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । साथै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पनि सामाजिक सद्भावमा आँच आउने खालका सामग्री प्रसारण नगरी सत्य, तथ्य र वस्तुनिष्ठ समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

‘शान्ति, सुरक्षा, सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक भाइचारा कायम राख्न सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, उद्योगी–व्यवसायी, सामाजिक संस्था, सञ्चारमाध्यम र आम नागरिक सबैको सहकार्य आवश्यक छ । त्यसका लागि सामाजिक एकता थप बलियो बनाउने कार्यमा योगदान गर्न सबैमा आह्वान गर्दछु,’ मुख्यमन्त्री शाहको अपिलमा उल्लेख छ ।