अत्तरिया – कैलालीको भजनी नगरपालिका–५ स्थित गुलरियाघाँट नजिकको जंगलबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ३ लाख ४ हजार बराबरका सिलाइ तथा गार्मेन्टसम्बन्धी सामग्री बरामद गरेको हो ।

बरामद गरिएका सामानमा धागो, फास्टेनिङ टेप, निडल प्लेट, ड्रेस हुक, पिटम्यान सेट, निडल होल्डर, ट्रेडल स्क्रु, सिलाइ मेसिन मोटर, ट्राउजर हुक, धागो काट्ने कैँची, बटन लगायतका सामग्री रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















