अत्तरिया– कैलालीको गेटामा अवस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सरसफाई गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिल कुमार जोशीको आह्वानमा बुधबार सरसफाई गरिएको हो ।

सोमबार उपकुलपति जोशीले विश्वविद्यालय परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाई सरसफाइ अभियानमा सहयोग गर्न सामाजिक सङ्घसंस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायहरूलाई आह्वान गरेका थिए । सो आह्वान पश्चात स्थानिय विभिन्न युवा क्लब, विद्यालय, स्थानियबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति लगायतले विश्वविद्यालय परिसरमा सरसफाई गरेको हो ।

सरसफाईका क्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. जोशीले विश्वविद्यालयप्रति स्थानियस्तरबाट अपनत्व आओस् भन्नाका लागि सरसफाईका लागि आह्वान गरिएको बताए । उनले स्थानियबासीले दुःख गरेर स्थापना गरेको विश्वविद्यालयप्रति सामुदायिक जिम्मेवारी हुन आवश्यक रहेको बताए । उनले वातावरणीय स्वास्थ्यलाई ध्यानमा राखेर पनि कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. भीम बहादुर चन्दले विश्वविद्यालय परिसरको सरसफाईमा सहभागी सम्पुर्णलाई धन्यवाद दिए । उनले विश्वविद्यालयको क्षेत्र ठुलो भएकाले सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको बताए ।















