अत्तरिया – कैलालीको धनगढीमा लागू औषध सहित ३ भारतीय नागरिक पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ६ के.आई. सिह चोकबाट लागूऔषध खैरो हेरोइन १ ग्राम ८ मिलिग्राम सहित ३ भारतीय नागरिक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारत लखिमपुर खिरीका २४ वर्षीय सलमान खान, २५ वर्षीय जहिद अली र २१ वर्षीय महोमद असलाम रहेका छन । उनीहरुलाई मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको थियो । तीन जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैबिच मंगलबार नै धनगढी उपमहानगरपालिका – २ सिसा पोष्ट नजिकबाट नियन्त्रित लागूऔषध ८ स्पास नामक ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १२ स्यालिनदीबाट लागूऔषध खैरोहेरोइन ९६० मिलिग्राम सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका – ७ का ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्साह कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार दुवैजनालाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।















