बझाङ – बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुवापन आइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।
दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ रहेको र, जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको ६ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।


अहिले घटनास्थलमा स्थानीयको सहयोगमा उद्धार भइरहेको छ । से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटना सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरी घटनास्थलतर्फ भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।


















