धनगढी –स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको छ । शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले समय नदिएपछि विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो ।

गत बैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेको थियो । त्यसपछि सरकारले ढिलो गरी नयाँ पदाधिकारी नियुक्तिको लागि सिफारिस समिति गठन गरेको थियो । विश्विद्यालयको ऐनअनुसार गठित सिफारिस समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा. डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य रहेका थिए ।

उक्त समितिबाट प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि प्रा.डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो । समितिले अघिल्लो हप्ता नै उपकुलपति र रजिष्ट्रार नियुिक्तको सिफारिस गरिसकेको छ । तर, शिक्षामन्त्री पोखरेलले समय नदिएका कारण पदाधिकारी नियुक्तिको लागि बस्ने सिनेट बैठकको टुंगो अझैसम्म लागेको छैन ।
सरकारले केही दिनअघि अन्य विश्वविद्यालयका पदाधिकारी नियुक्त गरिसकेको छ । तर, स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी मात्रै नियुक्त हुन सकेनन् । जसका कारण आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षाको स्नातक तहको पढाइ सुरु गर्ने तयारी गरेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अन्योल सिर्जना भएको छ ।


















