खाेज्नुहाेस

शुक्लाफाँटाले दश वर्षे नगर शिक्षा योजना बनाउँदै, मस्यौदामाथि छलफल

Image

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर शिक्षा योजना (२०८३/२०९३) को मस्यौदामाथि सरोकार भएका निकायबाट राय, सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रको दीर्घकालीन विकास, गुणस्तर सुधार तथा समयानुकूल शैक्षिक प्रणाली विकास गर्ने उद्देश्यले तयार गरेको मस्यौदामाथि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नगर कार्यपालिका, नगर शिक्षा समिति, शिक्षक, अभिभावक तथा शिक्षाविद्हरूसँग छलफल अघि बढाएको हो ।

नगर शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टले शिक्षा योजना निर्माणका लागि पाँच सदस्यीय कार्यदल गठन गरी विगत केही महिनादेखि आवश्यक अध्ययन, अनुसन्धान तथा सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिएको बताए । उनका अनुसार नगरभित्रका प्रत्येक विद्यालयमा पुगेर अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरी सुझाव लिइएको छ ।

attariya hospital

साथै विद्यालय सुधार योजना, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारका शिक्षासम्बन्धी नीति, राष्ट्रिय पाठ्यक्रम प्रारूप(२०७६ तथा शिक्षा क्षेत्रका विद्यमान कानुनी व्यवस्थालाई आधार बनाएर मस्यौदा तयार गरिएको शाखा प्रमुख भट्टले जानकारी दिए । ‘सरोकार भएका निकायका प्रतिनिधिबाट प्राप्त सुझावलाई समेट्दै योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने तयारी गरेका छौँ’, उनले भने । नगरप्रमुख रणबहादुर महराले गुणस्तरीय शिक्षा समृद्ध नगर निर्माणको आधार भएकाले आगामी दशकलाई लक्षित गरी व्यवहारिक, कार्यान्वयनयोग्य र परिणाममुखी शिक्षा योजना तयार गरिएको बताए । उनले शिक्षामा गरिएको लगानी भविष्यको समृद्धिमा गरिएको लगानी भएकाले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनका अनुसार नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग, सीपमूलक शिक्षा, स्थानीय पाठ्यक्रम, शिक्षक क्षमता विकास र विद्यालयको भौतिक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै योजना कार्यान्वयन गर्नेछ ।

navjiwan hospital

नगर उपप्रमुख कल्पना पन्तले शिक्षा योजना निर्माणमा सबै सरोकारव भएका निकायको सक्रिय सहभागिता सुनिश्चित गरिएको बताउँदै प्राप्त सुझावका आधारमा योजनालाई थप परिमार्जन गरी अन्तिम रूप दिइने जानकारी दिए । उनले बालमैत्री, समावेशी, सुरक्षित तथा प्रविधिमैत्री सिकाइ वातावरण निर्माण नगरपालिकाको मुख्य लक्ष्य रहेको बताइन् ।

नगर शिक्षा तर्जुमा समितिका संयोजक रमेशबहादुर ऐरले सामुदायिक तथा संस्थागत विद्यालयबीचको गुणस्तरीय शिक्षाको अन्तर घटाउने, प्रविधिमैत्री तथा बालमैत्री शिक्षा प्रणाली विकास गर्ने उद्देश्यले विद्यालयहरूको नक्साङ्कन र अवस्थाको मूल्याङ्कन गरिएको जानकारी दिए । उनले स्थानीय आवश्यकता र सम्भावनाअनुसार शिक्षा नीति निर्माण गरिने बताए ।

छलफल कार्यक्रममा लालझाडी गाउँपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं कार्यक्रमका सहजकर्ता सिद्धराज भट्टले नगरपालिकाको शिक्षा योजना जीवनोपयोगी, सीपमूलक, सहभागितामूलक तथा व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

उनले योजनामा गणित पार्क निर्माण, विद्यालय भान्सा सुधार, विपद् तथा आपतकालीन अवस्थामा शिक्षा निरन्तरता, सूचना प्रविधिमा सबैको पहुँच, सुशासन तथा व्यवस्थापन, स्थानीय शिक्षा योजनाको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कन र स्रोत व्यवस्थापनलाई स्पष्टरूपमा मस्यौदामा समेटिएको बताए ।

नगरपालिकाले ‘प्रविधिमैत्री, गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरण अभिवृद्धि, शुक्लाफाँटा नगरपालिकाको समृद्धि’ भन्ने दूरदृष्टि राख्दै आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/९३ सम्म लागू हुने शिक्षा योजनाको मस्यौदा तयार गरेको छ । योजनाको दीर्घकालीन सोच ‘गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र रोजगारमुखी शिक्षामार्फत सक्षम, नैतिक र प्रतिस्पर्धी नागरिक निर्माण’ रहेको छ ।