बैतडी – बैतडीमा मोबाइल बैंकिङ तथा सामाजिक सञ्जालमार्फत हुने डिजिटल ठगीका घटना बढ्दै गएका छन् । जेठ महिनामा मात्रै मोबाइल बैंकिङ ह्याक गरी आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको भन्दै ११ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक भुवन तिमिल्सेनाका अनुसार बैंक खाता जोखिममा रहेको, केवाईसी अद्यावधिक गर्नुपर्ने, पासवर्ड परिवर्तन गर्नुपर्ने वा अनलाइन सामान खरिदसम्बन्धी बहानामा फिसिङ लिंक पठाएर ठगी गर्ने क्रम बढेको छ ।

उनका अनुसार ठगहरूले बैंक वा वित्तीय संस्थाको नाम प्रयोग गर्दै मोबाइलमा सन्देश पठाउँछन् । प्रयोगकर्ताले त्यसमा क्लिक गरी पासवर्ड, ओटीपी वा अन्य गोप्य विवरण प्रविष्ट गरेपछि खातामा रहेको रकम अन्य बैंक खातामा स्थानान्तरण हुने गरेको छ ।


















