खाेज्नुहाेस

बाजुराको बाम्का बजारमा खानेपानीको हाहाकार

Image

बाजुरा– बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा खानेपानीको अभाव हुन थालेको छ । खानेपानीको मुख्य मुहान सुकेपछि बजारमा खानेपानको हाहाकार भएको हो । बजारमाथि रहेको सानो मुहानबाट यहाँका व्यापारी तथा स्थानीयले खानेपानीको आवश्यकता पूरा गर्दै आएका भएपनि खडेरीका कारण मुहान सुकेपछि बजारमा खानेपानीको सङ्कट उत्पन्न भएको स्थानीयले बताएका छन् ।

बाम्का बजारका व्यापारी डम्मर साउँदले मुहानको पानी सुक्दा बजारमा खानेपानीको समस्या सृजना भएको बताए । उनले बजारमाथिको मुहानबाट ल्याइएको पानीका लागि एक धारा निर्माण गरिएको भए पनि खडेरीका कारण मुहान नै सुकेको बताए । उनले पसलमा आउने ग्राहकहरुलाई दिनलाई समेत पानीको अभाव हुने गरेको बताए । साउँदका अनुसार खानेपानी व्यवस्थापनका लागि विभिन्न निकाय र जनप्रतिनिधिसँग पटक–पटक पहल गरिए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।

attariya hospital
navjiwan hospital

२०८२ जेठ २३ गते भएको भीषण आगलागीले बजारमा ठुलो धनमालको क्षति पु¥याएको थियो । आगलागीपछि विभिन्न निकाय र सहयोगी संस्थाको सहयोगमा बजारको पुर्ननिर्माण तथा व्यवस्थापनमा सुधार भए पनि खानेपानी समस्या भने यथावत् रहेको बाम्का बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गिरीले बताए । जिल्लाका तीन पालिकाको मुख्य बजारका रुपमा रहेको बाम्कामा दैनिक ठुलो संख्यामा ग्राहकहरु आउने गरेको भएपनि ग्राहकहरुलाई दिनका लागि खानेपानी समेत अभाव हुने गरेको उनी बताउँछन । अध्यक्ष गिरीले पानीकै कारण बजारमा शौचालय सञ्चालनमा समेत समस्या हुने गरेको बताए ।

हाल स्थानीयले पिउने र नुहाउने पानीका लागि बजारमुनि रहेको बुढीगङ्गा खोलामा जानुपर्ने अवस्था छ । बुढीगङ्गा नगरपालिकाले भने खानेपानी समस्या समाधानका लागि लिफ्टिङ प्रणालीमार्फत बुढीगङ्गा खोलाबाट पानी ल्याउने योजना अघि बढाएको जनाएको छ । यसका लागि प्रदेश सरकारले गत वर्ष १० लाख रुपियाँ र चालु वर्ष पनि १० लाख रुपियाँ विनियोजन गरेको छ । साथै, रिरास परियोजनासँग समेत समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख रामबहादुर बानियाँका अनुसार विगतदेखि नै बाम्कामा खानेपानीको अभाव रहँदै आएको छ । विभिन्न स्थानमा मुहान खोजिए पनि पर्याप्त स्रोत फेला नपरेपछि बुढीगङ्गा खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पानी ल्याउने योजना बनाइएको नगरप्रमुख बानियाँ बताउँछन् । उनले आगामी आर्थिक वर्षको साउनदेखी काम सुरु गर्ने तयारी रहेको बताए । सो योजना सम्पन्न भए बाम्का बजारका प्रत्येक पसलमा खानेपानीको धारा जडान गरिने नगरप्रमुख बानियाँले बताए ।

२०६५ सालमा स्थापना भएको बाम्का बजार बाजुराकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ । बाम्का बजारमा करिब १३० वटा पसल रहेका छन् भने यहाँको जनसङ्ख्या झण्डै ५५८ रहेको छ । मुहान सुकेपछि स्थानीय तथा व्यापारीलाई दैनिक उपभोगका लागि समेत पानीको अभाव हुन थालेको छ ।