धनगढी – जलस्रोतमा धनी सुदूरपश्चिम प्रदेशमा करिब १३५ मेगावाट विद्युत् उत्पादन भइरहे पनि ६० हजार ७८७ घरपरिवार अझै विद्युत्को पहुँच बाहिर रहेका छन्।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार प्रदेशमा विद्युतीकरण दर ८८ प्रतिशत पुगेको छ भने १२ प्रतिशत घरधुरीमा अझै बिजुली पुगेको छैन। हाल ४ लाख १७ हजार ७९४ घरधुरी राष्ट्रिय प्रसारण लाइनबाट लाभान्वित छन् भने ८३ हजार ९५६ घरधुरीले सोलार तथा लघु जलविद्युत् सेवा प्रयोग गरिरहेका छन्।

प्रदेशमा सरकारी क्षेत्रबाट ३१।६ मेगावाट र निजी क्षेत्रबाट १०३।८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। उत्पादन बढे पनि वितरण पूर्वाधार विस्तारमा ढिलाइ हुँदा दुर्गम बस्तीका नागरिक अझै टुकी र दियालोकै भरमा छन्।
विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र बाँकी ६० हजार घरधुरीमा पनि विद्युत् सेवा पुर्याई सुदूरपश्चिमलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको जनाएको छ।
















