अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशभित्रका सडक सञ्जालको विकास, विस्तार, स्तरोन्नति तथा बाह्रै महिना सडक सुचारु राख्ने योजना अघि सारेको छ ।
सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तर्गत निर्माण सम्पन्न भइसकेका कालोपत्रे सडकहरूमा बाह्रै महिना सहज आवागमन सुनिश्चित गर्न ‘सडक मर्मत सम्भार समूह’ मार्फत नियमित मर्मत गर्ने व्यवस्था मिलाएको छ । यस कार्यका लागि मात्रै आगामी आर्थिक वर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।


यसका साथै, लोक मार्ग तथा गौरवका आयोजनामा पौने २ अर्ब विनियोजन गरिएको छ । प्रादेशिक सडक सञ्जाल गुरुयोजनाको प्राथमिकताका आधारमा प्रदेश लोक मार्ग, प्रदेश सहायक मार्गहरू, प्रदेश गौरवका सडक, बहुवर्षीय र समपूरक अनुदानका सडकहरूको विकास, विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ७४ करोड ४४ लाख विनियोजन गरिएको हो ।
यस्तै दुर्गम गाउँपालिकाका केन्द्रलाई सडक सञ्जालमा जोड्न विश्व बैङ्क र प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालित ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ मार्फत अहिलेसम्म सडक सञ्जालको पहुँच बाहिर रहेका दुर्गम स्थानीय तहका केन्द्रहरूलाई जोडिने भएको छ । यस अन्तर्गत बझाङ जिल्लाको साईपाल गाउँपालिका, दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका र बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्रलाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने कार्यलाई निरन्तरता दिन पर्याप्त बजेट छुट्याइएको उल्लेख छ ।
कृषि आर्थिक पहुँच मार्गको अवधारणा अन्तरगत सडक पूर्वाधारलाई सिधै उत्पादन र बजारसँग जोड्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षदेखि नयाँ कार्यक्रम सुरु गरिने भएको छ । कृषि उत्पादन क्षेत्रदेखि प्रदेश लोक मार्ग, राजमार्ग वा स्थानीय बजारसम्म जोड्ने सडकहरूलाई ‘कृषि आर्थिक पहुँच मार्ग’ का रूपमा बहुउपयोगी हुने गरी प्राथमिकताका साथ निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
प्रदेशको कार्यक्षेत्र भित्र पर्ने निर्माण सम्पन्न भइसकेका झोलुङ्गे पुलहरूको तथ्याङ्क सङ्कलन गरी आवधिक मर्मत सम्भार गरिने बजेटमा उल्लेख छ । यसका साथै, सडक सुविधा पुग्न नसकेका दुर्गम र विकट स्थानहरूमा पदमार्ग, घोडेटो बाटो र झोलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिन १५ करोड ६० लाख विनियोजन गरिएको छ ।



















