बाजुरा – बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा भोटे समुदायमाथि दुव्र्यवहार भएको आरोप लागेको छ । स्थानीयका अनुसार हुम्लाबाट आएका व्यक्तिहरूले भोटे समुदायलाई क्षेत्रबाट लखेट्नुका साथै भेडीगोठ र अस्थायी पालमा आगजनी गरेका छन् । घटनामा खाद्यान्न, भाँडाकुँडा लगायत सामग्री जलेर नष्ट भएका छन् ।

भोटे जनजाति महासंघ केन्द्रिय अध्यक्ष जनक भण्डारीका अनुसार रानिसैनमा भोटे समुदायले प्रयोग गर्दै आएका मोबाइल फोनसमेत खोसेर लगिदिने गरेको बताए ।

भोटे जनजाति महासंघले ३५ भन्दा बढी परिवार प्रभावित भएको जनाएको छ । घटनापछि स्थानीयले सुरक्षा व्यवस्था, निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न बाजुरा र हुम्लाबाट प्रहरी टोली रानीसैन पुगेको छ भने प्रशासनको आधिकारिक प्रतिवेदन आउन बाँकी छ ।



















