अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविले आफ्नै वेवसाइट तयार गरेको छ । विद्यालयमा कक्षा १२ मा कम्प्युटर इन्जिनियरिङ पढ्ने ६ जना विद्यार्थीहरुले विद्यालयको वेवसाइट तयार गरेका हुन ।
वेवसाइटमा विद्यालयका समग्र गतिविधिहरुको बारेमा जानकारी पाईने बताईएको छ । वेवसाथी नामक समुहमार्फत ६ जना विद्यार्थीहरुले ३ महिना लगाएर विद्यालयको वेवसाइट तयार पारेका हुन ।
समुहका सदस्य रावल सुनारले ६ जना साथीहरु मिलेर विद्यालयको वेवसाइट बनाएको बताए । उनले वेवसाइट निर्माणको कार्य आफूहरुले कक्षा ११ मा पढ्दा देखी नै सुरु गरेको बताए । ‘हामीले वेवसाइट बनाउने कार्य कक्षा ११ देखी नै सुरु गरेका हौँ, त्यतिबेला किरण सरले कोडिङ लगायतका विषय सिकाउनुभएको थियो’ उनले भने ‘त्यहाँबाट हामीलाई यो विषयमा रुचि लाग्यो र यसबाट पैसा पनि कमाउन सकिन्छ भन्ने सोचेर एक दुई जना बाहिरका व्यवसायहरुको पनि वेवसाइट बनायौँ ।’ उनले बाहिरका वेवसाइट बनाएको थाहा पाएर नै विद्यालयका प्रधानाध्यापकले आफूहरुलाई विद्यालयको वेवसाइट बनाउन अनुरोध गरेको बताए । उनका अनुसार विद्यालयको वेवसाइटमा धेरै फिचरहरु भएपनि नोटीस, पब्लिकेशन, ग्यालरी तथा इभेन्ट्स मुख्य फिचरका रुपमा रहेका छन् । जसमा विद्यालयका वार्षिक गतिविधिहरु राख्न सकिने उनको भनाई छ ।


वेवसाथी समुहमा रावल सुनार सहित कौशल थापा, ललित महर, छत्र वि.क, बर्षा बोगटी र आशिष उपाध्याय रहेका छन् । ६ जना विद्यार्थीको समुहले तयार पारेको सो वेवसाइट शुक्रबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयका अध्यक्ष हरि भट्टराईले विद्यार्थीहरुले बनाएको वेवसाइट विद्यालयले प्रयोग गर्ने बताए । उनले सो वेवसाइट वाफत विद्यार्थीहरुलाई केही रकम पनि प्रदान गरिएको बताए । ‘बाहिर वेवसाइट बनाए त्यसको मुल्य महंगो पर्न जान्छ’ उनले भने ‘तर हामीले विद्यार्थीहरुको मेहनतको कदर गर्दै आफ्नै उत्पादन भएकाले केही सहुलियतमा विद्यार्थीहरुबाट वेवसाइट खरिद गरेका हौँ ।’ उनले विद्यालयले पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरेको र सो कार्यक्रममार्फत नै विद्यार्थीहरुले वेवसाइट तयार गरी विद्यालयलाई हस्तान्तरण गरेको बताए । उनका अनुसार विद्यालयले सो कार्यक्रम अन्तरगत अन्य विभिन्न तालिमहरु पनि सञ्चालन गरिरहेको छ ।
वेवसाइट हस्तान्तरण कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले विद्यार्थीहरुले पढ्दा पढ्दै आईटी क्षेत्रमा राम्रो उपलब्धी हासिल गरेको बताए । उनले आफूहरु जुन भुमिकामा भएपनि विद्यार्थीहरुले गरेको प्रयत्नलाई प्रमोट गर्ने कर्तव्य भएको बताए । उनले विद्यार्थीहरुले आगामी दिनमा सो कार्यलाई व्यवसायी रुपमा अघि बढाउनका लागि नगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुुख शारदा देवी रोकायाले अहिलेको विज्ञान प्रविधिको समयमा विद्यार्थीहरुले सृजना गरेको उपलब्धी तारिफ योग्य भएको बताईन । उनले विद्यालयको समग्र क्षेत्रको राम्रो समन्वयका कारण नै विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा उपलब्धी हासिल गरेको बताईन । उनले विद्यार्थीहरुले आफूले आइटी विषय पढ्दै सोही क्षेत्रमा कमाउने कार्यको पनि थालनी गरेकोमा खुसी व्यक्त गरिन । उनले विद्यार्थीहरुको उत्पादनलाई बढावा दिन गर्नसक्ने कार्यमा नगरपालिकाले तत्पर रहने समेत बताईन ।
















