धनगढी – यस वर्षको मनसुनका कारण सुदूरपश्चिम ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार विपद् (बाढी, पहिरो, डुवान)बाट प्रदेशका ७ हजार ६ सय ३ घरधुरी विपद्को प्रत्यक्ष चपेटामा पर्ने अनुमान गरिएको छ ।
मन्त्रालयका विपद् सम्पर्क व्यक्ति जनक धामीका अनुसार प्रदेशको ३३ हजार २ सय २७ जना मानिस विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । प्रदेश सरकार तथा सरोकारवाला निकायहरूले पूर्वतयारी र प्रतिकार्य योजनालाई तीव्रता दिएको धामीले बताए ।

‘अहिले विपद् प्रभावित हुने स्थान र घरधुरीको पहिचान गरेका छौं,’ धामीले भने, ‘त्यसै अनुसार हामीले पूर्वतयारी पनि गरिरहेका छौं, छिट्टै कार्यविधि बनाएर कामको वाँडफाँट हुन्छ ।’ भौगोलिक संवेदनशीलताका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद्को प्रकृत फरक–फरक हुने देखिएको छ । मन्त्रालयका विपद् सम्पर्क व्यक्ति धामीका अनुसार यो वर्ष तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर मनसुनबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । तराईका क्षेत्रमा नदी कटान र अस्वाभाविक वर्षाका कारण डुबान तथा बाढीको समस्या मुख्य चुनौतीका रूपमा रहने आकलन गरिएको उनले बताए ।

पहाडी तथा हिमाली भू–भागमा डुबान र बाढीको सम्भावना न्यून रहेपनि पहिरोको जोखिम भने निकै उच्च रहेको छ । विगतका वर्षहरूमा जथाभाबी खनिएका सडक र कमजोर भू–बनोटका कारण सामान्य वर्षामा पनि ठुला पहिरोहरू जाने र बस्ती नै जोखिममा पर्ने गरेको अनुभव प्रदेश सरकारसँग रहेको छ । यस पटक पनि पहाडी जिल्लाहरूमा पहिरोले ठुलो आर्थिक र मानवीय क्षति पु¥याउनसक्ने भन्दै उच्च सतर्कता अपनाउनु पर्ने धामी बताउँछन् ।
मन्त्रालयले संकलन गरेको पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिमका ९ वटै जिल्लाहरू मनसुनको जोखिममा छन् । जस अनुसार कञ्चनपुरमा ७ हजार १ सय ३२ जना (प्रदेशमै सबैभन्दा बढी प्रभावित हुने अनुमान) कैलालीमा ६ हजार १ सय ९५ जना (दोस्रो बढी जोखिमयुक्त क्षेत्र) डोटीमा ४ हजार ८ सय २० जना, बाजुराः ३ हजार ७ सय ७६ जना, बैतडीमा ३ हजार ३ सय ६२ जना, डडेल्धुरामा ३ हजार १ सय ८ जना, बझाङमा एक हजार ७ सय ७४ जना, अछाममा एक हजार ६ सय २ जना दार्चुलामा एक हजार ४ सय ६७ जना प्रभावित हुने अनुमान गरिएको छ ।
मनसुन सुरु हुन लागेकाले सम्भावित क्षतिलाई कम गर्न र नागरिकको जीउधनको रक्षा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । विपद् सम्पर्क व्यक्ति धामीका अनुसार पूर्वतयारीलाई व्यवस्थित र संस्थागत बनाउन एउटा विशेष कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले सम्भावित विपद् व्यवस्थापन र प्रतिकार्यका लागि विस्तृत मस्यौदा तयार गरिसकेको छ । मन्त्रालयले मनसुन आधिकारिक रूपमा सक्रिय हुनु अगावै यो मस्यौदालाई मन्त्रिपरिषदबाट पारित गराई पूर्णरूपमा कार्यान्वयनको चरणमा लैजाने तयारी गरेको छ ।

















