बैतडी – बैतडीमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहरा रहेका छन् ।

बिहीबार बिहान पुर्चौडी–५ स्थित सल्लेलीगाउँ–काटै ग्रामीण सडक निर्माणका क्रममा एक्स्काभेटरको बकेटले ठक्कर दिँदा बोहरा गम्भीर घाइते भएका थिए । घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो ।

उपचारकै क्रममा डडेल्धुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक बोहरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थिए । घटनामा संलग्न एक्स्काभेटर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का २५ वर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















