धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कानुनलाई व्यक्तिको अनुकूलतामा होइन, मुलुक र जनताप्रति उत्तरदायी भएर कार्यान्वयन गरिए मात्रै यसको सही सदुपयोग हुने बताएका छन । मुख्य न्यायाधिवक्ताहरूको सातौं राष्ट्रिय सम्मेलन २०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले कानुनलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्तिका कारण मुलुकमा विभिन्न समस्या उत्पन्न भइरहेको बताए ।

संघीय शासन प्रणालीको सुदृढीकरणका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले अधिकार र दायित्वका विषयमा अझै स्पष्टता नआएकाले तिन तहका सरकारबीच दुविधा कायम रहेको बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहबीच पारस्परिक सम्मान र सहकार्य जरुरी रहेको बताउँदै एकअर्काको अस्तित्व स्वीकार गरेर अघि बढेमा मात्र संघीय शासन बलियो हुने धारणा राखे । केही स्थानमा स्थानीय तह र प्रदेश सरकारबीच देखिएका अधिकारक्षेत्रप्रति संकेत गर्दै उनले संघीय मन्त्रिपरिषद्को निर्णय तथा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा समेत प्रदेशका काममा अवरोध सिर्जना गरिनु दुःखद भएको बताए ।
‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायाधिवक्ता, सुदृढ संघीय शासन’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीको अध्यक्षतामा सुरु भएको सम्मेलन जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू, कानुनविद् तथा सरोकारवालाहरूबीच संघीयता कार्यान्वयनमा देखिएका कानुनी जटिलता र आगामी कार्यदिशाबारे छलफल हुने आयोजकले जनाएको छ ।

















