बैतडी – तीन घण्टा उकालो र आरालो चढ्दै ४० लिटरको जर्किन पिठ्यूँमा बोकेर पानी बोकी दैनिकी धान्न बाध्य बैतडी पञ्चेश्वर गाउँपालिकास्थित पालडी र लेकगाउँका स्थानीय घर–आँगनकै धारोमा खानेपानी आउन थालेपछि खुसी देखिएका छन् ।
यी दुई गाउँको बस्तीमा पानीको मूल नजिक नहुँदा ३ घण्टा उकालो र ओरालो हिँडेर जर्किनमा पानी ल्याउनुपर्ने बाध्यता थियो । उनीहरू झरीको पानी प्लास्टिकको ड्रम, पोखरीमा जम्मा गरेर पनि पानीको जोहो गरिरहन्थे ।

फिनल्यान्डरयुरोपियन युनियनको ८० लाख ३९ हजार ६ सय ५७ र पञ्चेश्वर गाउँपालिकाको ३६ लाख १४ हजार ५ सय ३१, नेपाल सरकारको १४ लाख ४५ हजार ८ सय १२ गरी १ करोड ३१ लख रुपैयाँमा करिब २ हजार १ सय ४९ मिटर टाढाबाट पाइपमार्फत पानी ल्याएको पताललेक पालडी धुरा सोलार लिफ्ट खानेपानी योजनाका अध्यक्ष गोरख सार्कीले बताए ।

बस्तीमा अहिले १ सय २ धारा जडान गरिएका छन् । धारामा चौबीसै घण्टा पानी आउँदा घर आँगनमै स्थानीयले पानी भर्न पाएका छन् । ‘अब हाम्रा दुःखका दिन गए, घरमै पानी आएपछि जति नुहाइधुवाइ र पिए पनि भयो,’ स्थानीय भना सार्कीले भने, ‘दिनकै तीन घण्टा उकालो र ओरालो धाएर पानीका जर्किन पिठ्यूँमा बोक्नु पर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।’
‘स्वास्थ्यजस्तो सरसफाइ गरिने संवेदनशील कार्यालयमा पानीको समस्या थियो । अहिले पानी पुग्नाले सहज भएको छ,’ पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले भने, ‘स्वास्थ्य कार्यालयमा पनि पानी बोक्नुपर्ने वाध्यता थियो, अहिले त्यो हटेको छ ।’
पालडी लेक गाउँमा ९८ घरधुरी, एक विद्यालय, एक स्वास्थ्यचौकी, सहकारी र वडा कार्यालय छन् । खानेपानी आयोजनाले स्थानीयलाई धेरै सुविधा पुर्याएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । पानीको मूल नभएर पालडी, लेक गाउँमा खानेपानी व्यवस्थापन गर्न गाह्रो भएको र लिफ्ट खानेपानीले गर्दा सहज भएको उनको भनाइ छ ।
अहिले प्रत्येक स्थानीयको आँगनमा खानेपानीको धारा पुगेको छ । प्रत्येक धारामा मिटर जडान गरिएको छ । गाउँपालिकाका अन्य धेरै ठाउँमा पानीका मूल सुकेर समस्या आएको र पानीका नयाँ मूल खोजेर योजना मर्मतसँगै नयाँ योजना निर्माण चरणमा रहेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।
पालडी र लेक गाउँका घरघरमा खानेपानी पुगेपछि खुसी भई स्थानीयले खानेपानी उद्घाटन कार्यक्रम राखी कर्मचारी र जनप्रतिनिधिलाई बाजागाजासहित स्वागत गरी धन्यवाद दिएको समिति अध्यक्ष सार्कीले बताए ।



















