महेन्द्रनगर – सरकारले खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्ति हुने भएपछि सुदूरपश्चिम विश्वविद्यालयमा एक महिलासहित १९ जनाले आवेदन दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत प्राध्यापकदेखि विभिन्न शैक्षिक संस्थामा रहेका र सेवा निवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिएका छन् । गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो ।

सरकारले ल्याएको नयाँ अध्यादेशपछि विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएसगैं सुदूरपश्चिम विश्वविद्यालयमा कार्यवहाक उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकले सम्हालेका छन् ।
उनी सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् । आवेदन दिएका मध्ये प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ ।


















