धनगढी – दार्चुलाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी विद्यालयमा मृत फेला परेका छन । सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेखेका उनी मृत फेला परेका हुन ।
धामीले सामाजिक सञ्जालमा आफूलाई योजनाबद्ध रूपमा चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानमा पारिएको दाबी गर्दै त्यसकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आफ्ना परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा विद्यालयलाई नमुना बनाउने अभियानमा लाग्दा “दुष्मनहरूको षड्यन्त्र” को सिकार भएको दाबी गरेका छन् ।


धामीले केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व र निर्माण व्यवसायीमाथि आफूलाई झुटो बलात्कार आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।
त्यस्तै उनले आफ्नो मृत्युपछि डीएनए परीक्षण गर्नसमेत माग गरेका छन् । आफूविरुद्ध लगाइएको आरोप झुटो सावित गर्न डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न परिवारलाई आग्रह गरेका छन् ।
धामीले प्रधानमन्त्री, राजनीतिक दलका नेताहरू तथा सरकारलाई समेत सम्बोधन गर्दै “ठालुहरूको दबदबामा समाज परिवर्तन हुन नसक्ने” टिप्पणी गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । धामीको मृत्युको वास्तविक कारण र उनले लगाएका आरोपबारे अनुसन्धान हुने दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए ।



















