बैतडी – जिल्ला प्रहरी कार्यालय बैतडीले गएको वैशाख महिनामा सम्पादन गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति विवरणमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने १ सय ५२ सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारी साधनबाट १ लाख ४२ हजार रुपैया राजस्व संकलन भएको छ ।

नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने कामअन्तर्गत जिल्ला प्रहरी कार्यालयमार्फत एक महिनामा सम्पादन भएका कामको विवरण सम्पूर्ण जनसमुदाय र सरोकारवालालाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

वैशाख महिनामै जिल्लामा आठवटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए । पाँचवटा दुर्घटना चालकको लापरबाही र सवारी साधन र सडकको अवस्थाका कारण तीनवटा दुर्घटना भएको प्रहरीले प्रगति विवरणमा उल्लेख गरेको छ ।
यस्तै अदालतबाट विभिन्न समयमा फैसला भइ सजाय तोकिएका तीन फरार प्रतिवादीलाई पक्राउ गरी १ वर्ष ८ महिना कैद र १ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । वैशाख महिनामा मात्रै जिल्ला प्रशासन कार्यालयबाट फैसला भएका मुद्दामा फरार ५ जनालाई पक्राउ गरी १ लाख ४१ हजार १ सय ९९ रुपैयाँ क्षतिपूर्ति भराई ३४ हजार ५ सय जरिवनासमेत असूल गरेको प्रहरीले जनाएको छ ।



















