अत्तरिया – कञ्चनपुरको कृष्णपुरका बालबालिकाले आगामी आर्थिक वर्षमा समेट्नका लागि आफ्ना योजना तयार पारेका छन् । शुक्रवार र शनिवार नगरपालिकामा आयोजना गरिएको बाल भेला मार्फत उनीहरूले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना सवाल समेटिएका ७४ लाख ४० हजारका योजना तयार पारेका हुन ।
नगर स्तरीय बाल सञ्जालका सचिव टेक राज जोशी कृष्णपुरका बालबालिकाहरूका के कस्ता समस्याहरू छन् ती समस्या न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने भन्ने विषयमा २ दिन वृहत् छलफल गरिएको बताए । छलफलमा १७ वटा सवाल उठान भएको बताउँदै ती सवालहरूमा भेलामा सहभागी बालबालिकाहरूलाई भोटिङ गराएर प्राथमिकिकरण गरिएको बताए ।

‘जसमा पहिलो सवालका रूपमा लागू पदार्थ सवाल आएको छ । लागू पदार्थको जल्दो बल्दो समस्या समाधानका लागि विभिन्न कार्यक्रम राखेका छौ’ उनले भने ‘भेलामा बालविवाह, बालश्रम, जङ्क फुड, अभिभावकको बेवास्ता, शिक्षामा पहुँच लगायतका विषय प्राथमिकिकरण परेका छन् । यी सवाल न्यूनीकरण गर्नका लागि आर्थिक वर्ष २०८३/८४ का लागि ७४ लाख ४० हजार आवश्यक पर्ने योजना बनाएका छौ ।’
उनले योजना कार्यान्वयनका लागि नगरपालिका मात्रै नभएर अन्य सङ्घसंस्थाहरू सँग पनि सहकार्य गरिने बताए । उनले भने ‘यसमा सबै बजेट नगरपालिकाले गर्नुपर्छ भन्ने छैन । केही बजेट नगरपालिकाले केही बजेट कृष्णपुरमा रहेको ९ वडा, कृष्णपुरमा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घसंस्था, अन्य संघसस्थाको सामाजिक उत्तरदायित्व अन्तरगतको बजेट मार्फत पनि बजेट परिपूर्ति गरेर बालबालिकाका सवालहरूलाई न्यूनीकरण गर्ने कार्य योजना बनाएका छौ ।’
उनले आगामी आर्थिक वर्षको योजना तर्जुमा कार्यक्रममा बालबालिकाको सहभागिताका लागि बस्ती स्तरीय योजना छनोटमा वडाहरूमा रहेका बाल क्लबका प्रतिनिधि पठाउने बताए । उनले नगरमा योजना तर्जुमा कार्यक्रममा नगर स्तरको समिति सहभागी भएर बढी भन्दा बढी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताए ।
सञ्जालका अध्यक्ष अशोक धामीले बालबालिकाको समस्या उजागर गर्नको लागि बाल भेला आयोजना गरेको बताउँदै भेलाबाट आएका बालबालिकाका सवालहरू कार्यान्वयन लागि कार्यक्रम पनि बनाइएको बताए ।

उनले कृष्णपुर नगरपालिकाले आफूहरूका सवालहरूलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने अपेक्षा लिएको बताए । उनले हाल कृष्णपुरमा नगर वडामा मात्रै बाल क्लब रहेका विभिन्न क्रियाकलाप गरिरहेकोमा अव बस्ती बस्तीमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । ‘हामी कृष्णपुर नगरपालिकालाई बाल बालिकाको क्षेत्रमा पहिलो नगरपालिका बनाउन चाहन्छौ’ उनले भने ‘यहाँ बालमैत्री स्थानीय शासन घोषणा भएको वडा, त्यस्तै नगर पनि घोषणा होस भन्ने चाहन्छौ । यसका लागि आगामी दिनमा पनि नगरपालिका, सँग कार्यक्रम सञ्चालन गर्ने संघ संस्थालाई पनि नियमित साथ सहयोगको अपेक्षा लिएका छौ ।’

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले समग्र समाजको विकासका लागि बालबालिकाको माध्यमबाट जानुपर्छ भन्ने आफूहरूको दृढ मान्यता रहेको बताए । उनले त्यसका लागि नगर स्तरीय बाल सञ्जाल, वडा स्तरीय बाल सञ्जाल, टोल स्तरीय बाल सञ्जाल गठन गर्ने कुरामा नगरपालिका लागिपरेको बताए । उनले कृष्णपुरमा रहेका हरेका टोलका बालबालिकालाई समेट्ने गरी कृष्णपुर नगरपालिका लागिपर्ने बताए । उनले लागू औषधका कार्यक्रममा पनि बालबालिका मार्फत नगरपालिकामा सञ्चालन गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।
उनले कृष्णपुरका बालबालिकाले नगरपालिका सँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अब आगामी दिनमा सबै समुदाय जातीको प्रतिनिधित्व हुने गरी बालबालिकाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले बालबालिकाहरूले भेलाबाट उठाएका सवालहरूमा कृष्णपुर नगरपालिका साझेदारीमा काम गर्न तयार रहेको बताए ।
कृष्णपुर नगरपालिकामा वल्डभिजन ईन्टरनेशनल नेपाल, राष्ट्रिय समाज कल्याण सघ (एनएनएसडब्लुए) र नगरको सहयोगमा नगर स्तरीय बाल सञ्जाल २०२२ देखि बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सोही अन्तरत शुक्रवार र शनिवार २ दिने नगर स्तरीय बाल भेला आयोजना गरेर बालबालिकाका सवालहरू उजागर गरिएका थिए ।
एनएनएसडब्लुएका बाल संरक्षण अधिकृत गणेश भूलले कृष्णपुरका ५ वटा वडामा सन २०२२ देखि २०२५ सम्म बाल स्पोन्सरसीप कार्यक्रम सञ्चालन गरिएको बताए ।
उक्त कार्यक्रममा २५ सय बालबालिका दर्ता भएको बताउँदै उनले जसअन्तर्गत बालबालिकाका सवाल र शिक्षाका गुणस्तरका सवालमा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले हाल वर्ड भिजनको नयाँ रणनीति अनुसार २०२६ देखि २०३० सम्मका लागि एकीकृत हातेमालो परियोजना अन्तरगत बालबालिकालाई सशक्त बनाउनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताए ।
उनले जसअन्तर्गत बालबालिकाको क्षमता अभिवृद्धि, योजना तर्जुमा कार्यक्रममा बालबालिकाको सहभागिता सुनिश्चितता गराउने लगायतका काम भइरहेको बताए । उनले कार्यक्रम अन्तरगत बालबालिका अहिलेको समय अनुसार कसरी परिवर्तन हुने भन्ने विषयमा टोल टोल र गाउँ गाउँमा कक्षा सञ्चालन गरिरहेको बताए ।

















