पलिया खीरी – भारत–नेपाल सीमामा अवस्थित लखिमपुर खीरी जिल्लाका सीमावर्ती बजारमा नेपाल सरकारले लागू गरेको कर नीति विरुद्ध व्यापारीहरू आन्दोलित भएका छन् । बिहीबार नगर व्यापार मण्डल पलिया (कंक्षल समूह) र (मिश्रा समूह)को नेतृत्वमा ठूलो संख्यामा सीमावर्ती व्यापार मण्डलका पदाधिकारी तथा व्यापारीहरूले प्रदर्शन गर्दै पलिया तहसील पुगेका हुन् ।
प्रदर्शनका क्रममा व्यापारीहरूले नेपाल सरकारले १०० रुपैयाँभन्दा बढीका घरेलु सामानमा लगाएको भन्सार करको विरोध गर्दै नाराबाजी गरेका थिए । उनीहरूले भारतका प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापन उपजिलाधिकारी डा. अवनीश कुमारलाई बुझाएका छन् । साथै अर्को ज्ञापन स्थानीय भाजपा विधायक रोमी सहानीलाई पनि हस्तान्तरण गरिएको थियो ।


व्यापारीहरूको भनाइअनुसार नेपालका नयाँ नियमका कारण सीमावर्ती बजारको व्यापार ५० प्रतिशतभन्दा बढी घटेको छ, जसले लाखौं मानिसको जीविकोपार्जनमा असर पारेको छ ।
व्यापार मण्डलका अध्यक्ष गौरव गुप्ताले भारत र नेपालबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै भारतले निरन्तर नेपाललाई आवश्यक वस्तु आपूर्ति गर्दै आएको बताए । तर नेपाल सरकारले लागू गरेको कडा नियमका कारण बनगवां, सूडा, चन्दन चौकी, बसही, खजुरिया र सम्पूर्णानगर जस्ता सीमावर्ती क्षेत्रको व्यापार धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
व्यापारीहरूले भारत सरकारसँग कूटनीतिक तहबाट पहल गरी नेपालले लगाएको भन्सार कर हटाउन र पुरानो व्यवस्था पुनः लागू गराउन माग गरेका छन् । समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी पनि उनीहरूले दिएका छन् ।
ज्ञापनको प्रतिलिपि भारतका विदेशमन्त्री एस जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि पठाइएको पठाइएको बताइएको छ ।



















