खाेज्नुहाेस

विद्यार्थीको चापाचाप हुने दुर्गालक्ष्मीमा थपिँदै भौतिक संरचना

Image

अत्तरिया – नेपाली र अङ्ग्रेजी माध्यममा पढाइए हुने कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा विद्यार्थीको अत्यधिक चापाचाप छ । यहाँ सम्म की एक सिफ्टमा विद्यार्थीलाई कक्षाकोठामा राख्ने ठाउँ नहुँदा बिहान र दिउँसो गरी यहाँ २ सिफ्टमा पठनपाठन हुने गरेको छ ।

विशेष गरी मावि कक्षामा विद्यार्थीको अत्यधिक चाप रहेको यस विद्यालयमा करिब ४ हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले बताए । उनले विद्यालयमा आधा दर्जन बढी विद्यालय भवन भए पनि विद्यार्थीको चाप अत्यधिक हुँदा पठनपाठनमा समस्या हुने गरेको बताए । बुधवार विद्यालयमा थप १२ कोठे विद्यालय भवनको शिलान्यास भएपछि खुसी व्यक्त गर्दै उनले भवन बनेपछि भने पठनपाठनमा सहज हुने बताए । ‘कक्षा कोठा धेरै भए पनि विद्यार्थी सङ्ख्या उच्च भएका कारण पठनपाठनमा एकदमै अप्ठ्यारो महसुस भएको थियो’ उनले भने ‘नयाँ विद्यालय भवन निर्माण भएपछि पठनपाठनका लागि एकदमै सहज हुने छ ।’

attariya hospital
navjiwan hospital

विद्यालयका अध्यक्ष हरि भट्टराईले आफ्नो कार्यकाल सुरु भएपछि विद्यालयमा भौतिक संरचना निर्माण सँगै शैक्षिक सुधारका काम सँगसँगै अघि बढाएको बताए । उनले यस नमुना विद्यालयमा रूपमा पाउनुपर्ने सहुलियत अन्य विद्यालयले पाए पनि यहाँ विविध कारणले रोकिएको बताउँदै आफूले अध्यक्षको कार्यकाल सम्हालेपछि भवन निर्माणको काम अघि बढाएको बताए । उनले विद्यालय भवन निर्माण भएपछि सहज रूपमा पठनपाठन गर्ने वातावरण निर्माण हुने बताए ।

उनले विद्यालय होस्टेलको लागि पनि प्रक्रिया अगाडि बढाएको बताउँदै होस्टेल निर्माण भएमा दूर दराजका विद्यार्थीले पनि सहज रूपमा पठन पाठन गर्न पाउने बताए । भौतिक संरचना निर्माण मात्रै नभएर शैक्षिक सुधारमा पनि विद्यालयमा उत्साहजनक सुधार भएको उनले बताए । ‘एसइईमा गत वर्षको भन्दा यो वर्ष निकै उत्साहजनक नजिता आएको छ’ उनले भने ‘गत वर्ष २८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए भने यो वर्ष सरहरूको, प्रशासनको अथक प्रयासले ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’ उनले आफूहरू यतीमै सन्तुष्ट नभएको बताउँदै उत्तीर्ण प्रतिशत ८५ प्रतिशत पुगाउने लक्ष्य रहेको बताए । ‘हामीले उत्तीर्ण दर मात्रै नभएर खेलकुद, विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सहभागिता बढाएर नजिता ८५ प्रतिशत पुगाउने लक्ष्य छ’ उनले भने ‘थप भौतिक संरचना निर्माण गरेर विद्यार्थी सङ्ख्या पनि ५ हजार पुगाएर सम्पूर्ण बोर्ड कक्षा ५, ८, १० र १२ मा ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सक्दैनौ तबसम्म हामी सन्तुष्ट हुन सक्दैनौ ।’

दुर्गालक्ष्मी नमुना माविमा नयाँ निर्माण गरिने १२ कोठे भवनको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले भवनको शिलान्यास गरेका थिए । उक्त भवन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले नमुना विद्यालय कार्यक्रम अन्तरगत निर्माण गर्न लागेको हो ।

भवन निर्माणका लागि ए.एम.–देभारी जोइन्ट भेन्चर, ग्वार्को ललितपुर सँग ठेक्का सम्झौता गरिएको छ । उक्त कम्पनी सँगै दाङ, रोल्पा, बाँके, सुर्खेत र कैलालीका पाँच विद्यालयमा भवन निर्माणका लागि १८ करोड ३५ लाख ८६ हजार २४३ रुपैयाँमा सम्झौता गरिएको छ । दुर्गालक्ष्मीको भवन निर्माणको लागत करिब ६ करोड रहेको बताइएको छ । ३ तले निर्माण हुने भवन सँगै शौचालय पनि निर्माण गरिने कार्यालयले जनाएको छ । भवन निर्माणका लागि वैशाख २३ गते सम्झौता गरिएको थियो । उक्त भवन निर्माणको अवधि १८ महिना रहेको छ । भवन निर्माण भएमा पठनपाठनमा सहज हुने गोदावरी नगरपालिकाका मेयर भट्टले बताए ।