अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविको १२ कोठे भवनको शिलान्यास गरिएको छ । बुधवार गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले भवनको शिलान्यास गरेका छन् ।
भवन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले नमुना विद्यालय कार्यक्रम अन्तरगत निर्माण गर्न लागेको हो ।


भवन निर्माणका लागि ए.एम.–देभारी जोइन्ट भेन्चर, ग्वार्को ललितपुर सँग ठेक्का सम्झौता गरिएको छ । उक्त कम्पनी सँगै दाङ, रोल्पा, बाँके, सुर्खेत र कैलालीका पाँच विद्यालयमा भवन निर्माणका लागि १८ करोड ३५ लाख ८६ हजार २४३ रुपैयाँमा सम्झौता गरिएको छ । दुर्गालक्ष्मीको भवन निर्माणको लागत करिब ६ करोड रहेको बताइएको छ । ३ तले निर्माण हुने भवन सँगै शौचालय पनि निर्माण गरिने कार्यालयले जनाएको छ ।
भवन निर्माणका लागि वैशाख २३ गते सम्झौता गरिएको थियो । उक्त भवन निर्माणको अवधि १८ महिना रहेको छ । भवन निर्माण भएमा पठनपाठनमा सहज हुने गोदावरी नगरपालिकाका मेयर भट्टले बताए ।
विद्यालयका अध्यक्ष हरि भट्टराईले विविध कारणले ढिलाई भएको भवन निर्माणको काम आफूहरु आएपछि सुरु गरिएको बताए । उनले भवन निर्माण पछि पठनपाठनमा सहज हुने बताए । उनले विद्यालयमा होस्टेलको लागि पनि प्रक्रिया अगाडि बढाएको बताउँदै होस्टेल निर्माण भएमा पठन पाठनमा सहज हुने बताए ।



















